Email :26
फिदिम । जन्मेदेखि ५९ महिनाभित्रका सबै बालबालिकालाई उमेर समूहअनुसार दिनुपर्ने खोपको सबै मात्रा पूरा गरेपछि पाँचथरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । पाँचथर पूर्ण खोप घोषणा देशकै पहिलो जिल्ला बन्न सफल भएको बताइएको छ ।
जन्मेदेखि ११ महिनाभित्रका १ हजार ५ सय १९, ११ देखि १५ महिनाका ५ सय ७३, १५ देखि २३ महिनाका १ हजार ४ सय ८ र २४ देखि ५९ महिनाका बालबालिकाको संख्या ५ हजार ६ सय ४ रहेको छ ।
यी सबै उमेर समूहका कुल ७ हजार १२ जना बालबालिकालाई उमेर समूहअनुसार लगाउनुपर्ने खोपका सबै मात्रा पूरा गरेर पूर्ण खोप तथा दिगोपना सुनिश्चित गरिएको जिल्ला खोप समन्वय समिति पाँचथरका अध्यक्ष रामराज आङदेम्बेले बताए ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख समेत रहेका आङदेम्वेले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अगाडि सारेका सबै सर्त पूरा गर्दै जिल्लालाई देशकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा गर्न भूमिका खेल्ने जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।
यसअघि जिल्लाका सबै पालिका र वडामा खोप अभियान सञ्चालन गरिएको थियो । जसमा खोपको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई खोज र खोप देऊजस्ता अभियान चलाइएको बताइएको छ । पाँचथरका सातवटा गाउँपालिका र १ नगरपालिकामध्ये हिलिहाङ गाउँपालिका जिल्लामा सुनिश्चित गर्ने पहिलो स्थानीय तह बनेको छ ।














Comments are closed