काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पश्चिम एसियामा विकसित भएको पछिल्लो तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय अस्थिरता चर्किएको उल्लेख गर्दै त्यसबाट उत्पन्न मानवीय क्षतिप्रति दुःख व्यक्त गरिएको छ। उक्त घटनाक्रममा ज्यान गुमाउने एक नेपाली नागरिकसहित सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै गोरखाका युवा दिवस श्रेष्ठको परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
प्रचार संयोजक अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ-संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, इजरायल, ओमान, साउदी अरब लगायत पश्चिम एसियाका विभिन्न मुलुकमा कार्यरत लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवन तनावका कारण प्रभावित भएको छ । ती देशमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासनका निर्देशनहरूको पूर्ण पालना गर्न तथा व्यक्तिगत सुरक्षाका लागि सम्भव सबै उपाय अवलम्बन गर्न हार्दिक आग्रह गर्दछाैँ ।
साथै, सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास र नेपाल सरकारलाई त्यहाँका नेपाली नागरिकको सुरक्षा, आवश्यक परे उद्धार तथा आपतकालीन सहयोगका लागि तुरुन्तै सक्रिय र प्रभावकारी पहल गर्न विशेष अनुरोध गरिएको छ। कठिन परिस्थितिमा परेका नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आवश्यक कूटनीतिक तथा प्रशासनिक कदम चाल्नु अपरिहार्य रहेको नेकपाको धारणा छ।
यसैबीच, पश्चिम एसियाको तनावसँगै नेपालभित्र पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासोहरू प्राप्त भइरहेको उल्लेख गर्दै पार्टीले आपूर्ति व्यवस्थापनमा देखिएको अव्यवस्था, कालोबजारी तथा कृत्रिम अभावजस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ। सर्वसाधारणलाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउन तथा बजार व्यवस्थापनमा कडाइ गर्न पनि पार्टीले आग्रह गरेको छ।
द्वन्द्वरत सबै पक्षलाई संयमता कायम राख्न, राष्ट्रहरूको सार्वभौमिकताको सम्मान गर्न, अन्तर्राष्ट्रिय कानूनको पालना गर्न तथा सबै मतान्तरको समाधान वार्ता र संवादमार्फत् खोज्न नेकपाले अपिल गरेको छ।
प्रचार संयोजक सापकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय शान्ति र नागरिक सुरक्षाको पक्षमा स्पष्ट अडान राख्दै कठिन घडीमा नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता पुनः दोहोर्याएको छ।














Comments are closed