Shopping cart

  • Home
  • राजनिती
  • समृद्धि, सुशासन र सामाजिक न्यायको स्पष्ट कार्ययोजना सहित रोल्पामा तारा चिन्हमा मत माग्दै वर्षमान पुन
देश

समृद्धि, सुशासन र सामाजिक न्यायको स्पष्ट कार्ययोजना सहित रोल्पामा तारा चिन्हमा मत माग्दै वर्षमान पुन

Email :22

रोल्पा । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ नजिकिँदै गर्दा रोल्पामा चुनावी माहोल तीव्र बन्दै गएको छ। वर्षमान पुन ‘अनन्त’ले तारा चिन्हमा मतदान गर्न आह्वान गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर रोल्पा निर्माणका लागि आफ्नो स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका  पूर्वमन्त्री पुनले विकास, सुशासन र सामाजिक रूपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

रोल्पाको शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गर्दै पुनले दुर्गम बस्तीका नागरिकलाई आधारभूत सेवा सुनिश्चित गर्ने योजना अघि सारेका छन्। “रोल्पामा अब अवसर खोज्न बाहिरिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,” उनले भने, “शिक्षा र स्वास्थ्यमा सुधार गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्छ।” युवालाई सीपमूलक तालिम, कृषि र साना उद्योगमार्फत आत्मनिर्भर बनाउने उनको योजना छ।

पूर्वाधार विकासलाई तीव्रता दिने सन्दर्भमा उनले मदन भण्डारी लोकमार्ग र शहीद मार्गको निर्माण कार्य शीघ्र पूर्ण गर्ने प्रतिबद्धता जनाएका छन्। ती मार्ग सम्पन्न भएमा रोल्पाको आर्थिक गतिविधि विस्तार हुने, कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्ने र पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

खानेपानी, सिंचाइ र खेलकुद पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। उनले दीर्घकालीन सिंचाइ योजना लागू गरी उत्पादन वृद्धिमा जोड दिने तथा खेलमैदान र कभर्ड हल निर्माणमार्फत युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने बताएका छन्। “रोल्पाको सम्भावना कृषि र पर्यटनमा छ, त्यसलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ,” पुनको भनाइ छ।

भाषा, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने नीति पनि उनको प्रमुख एजेन्डामा समेटिएको छ। जनयुद्धको ऐतिहासिक भूमिको रूपमा चिनिएको रोल्पालाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उनको लक्ष्य छ। यसले स्थानीय रोजगारी वृद्धि र आर्थिक चलायमानता बढाउने अपेक्षा गरिएको छ।

सामाजिक न्याय र समावेशितालाई विशेष महत्व दिँदै पुनले उत्पीडित महिला, दलित र युवालाई नेतृत्वमा अगाडि ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। “समान अवसर र सम्मान बिना समृद्धि सम्भव छैन,” उनले भने, “हामी सामाजिक विभेद अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणको आधार तयार पार्नेछौं।”

भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई उनले आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राखेका छन्। पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामार्फत विकासलाई प्रभावकारी बनाउने उनको योजना छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनयुद्ध र जनआन्दोलनका उपलब्धीको संरक्षणमा नेकपा दृढ रहेको सन्देश पनि उनले दिएका छन्।

वैज्ञानिक समाजवादको आधार तयार पार्दै दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणको दिशामा अघि बढ्ने नेकपाको दृष्टिकोण पुनले स्पष्ट पारेका छन्। शहीद, वेपत्ता, घाइते तथा अपाङ्गको उच्च सम्मान र परिवारको संरक्षणलाई पनि उनले आफ्नो कर्तव्यका रूपमा प्रस्तुत गरेका छन्।

रोल्पाली जनताको समृद्धि, न्यायपूर्ण समानता र स्थायी विकासको आकांक्षा पूरा गर्न तारा चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन्। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पुन र नेकपाले प्रस्तुत गरेको विकास, समावेशिता र सुशासनको एजेन्डा रोल्पाली मतदातामाझ चर्चाको केन्द्रमा पुगेको छ।

Comments are closed

Related Post