उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का प्रत्यक्षतर्फका उम्मेदवार तथा तारा चिन्हका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बलदेव चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा तीव्र घरदैलो तथा मतदाता भेटघाट अभियान जारी राखेका छन् ।

हाल त्रियुगा नगरपालिकामा घरदैलाे अभियान जारी छ । हिजाे त्रियुगा नगरपालिका–१६ अन्तर्गत सुकौरा बजारदेखि सिजाली, माथिल्लो आहाले, चिलाउने भञ्ज्याङ हुँदै सिद्रेसम्म आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार चौधरीसहितको टोलीले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र जनअपेक्षासँग सम्बन्धित विषयमा छलफल गरेको थियो । स्थानीयवासीले उम्मेदवारप्रति उत्साहजनक सहभागिता जनाउँदै आफ्ना समस्या र विकासका अपेक्षा राखेका थिए ।
आज त्रियुगा नगरपालिका-५ मा उक्त अभियान पुगेकाे छ । चाैधरीकाे कार्यक्रममा सहभागी मतदाताहरूले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र जनजीविकाका सवालमा स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवार चौधरीलाई सकारात्मक समर्थन व्यक्त गरेका छन् । स्थानीय स्तरमा बढ्दो सहभागिता र जनसम्पर्कले चौधरीको लोकप्रियता थप सुदृढ हुँदै गएको देखिएको छ ।

घरदैलो अभियानका क्रममा केही स्थानहरू समय अभावका कारण समेटिन नसके पनि छिट्टै बाँकी बस्ती तथा टोलहरूमा पुगेर मतदातासँग भेटघाट गर्ने योजना रहेको उम्मेदवार पक्षले जनाएको छ । अभियानलाई निरन्तरता दिँदै जनताको सुझाव र सरोकारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
उम्मेदवार चाैधरीले आफ्नाे निर्वाचन क्षेत्रमा पर्ने चाैदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा पनि घरदैलाे कार्यक्रम गरेका थिए । अहिले त्यस क्षेत्रमा स्थानीय पार्टी कमिटीहरुले घरदैलाे जारी राखेकाे जनाएका छन् । चौधरीप्रतिको जनविश्वास र समर्थन बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।














Comments are closed