ललितपुर । २०७४ सालमा निर्वाचित किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश सदस्य रमेश महर्जन र किर्तिपुरकै सबैभन्दा बढी जनसंख्या रहेको वडा नं. ६ का २०७४ सालमै निर्वाचित पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका निवर्तमान नगर कमिटी सचिव नुच्छे महर्जन एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ।
उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा वामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी विभिन्न कम्युनिष्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै आगामी दिनमा अझ बृहत्तर कम्युनिष्ट एकता सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश महर्जन र पूर्व वडा अध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।
केपी शर्मा ओली सँग पुनः जनतासँग मत माग्ने नैतिक आधार हराएकाे दाबी
कार्यक्रममा बोल्दै पूर्व मेयर रमेश महर्जनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सँग पुनः जनतासँग मत माग्ने नैतिक आधार कमजोर भएको टिप्पणी गर्नुभयो। उहाँले कम्युनिष्ट आन्दोलनलाई सशक्त, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो। साथै, किर्तिपुरको विकास, सुशासन र जनमुखी एजेण्डालाई केन्द्रमा राखेर आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।














Comments are closed