काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न अंकित झण्डा जलाएको घटनाको निन्दा गरेको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरिएको र महासचिव शंकर पोखरेलको गृहजिल्लामा रास्वपाका कार्यकर्ताले गरेको यो कार्यलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य गतिविधि भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ चुनाव चिन्ह जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हो। एमालेले दलीय प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्ष ठान्दै, यस घटनालाई निर्वाचन वातावरणमा अस्थिरता सिर्जना गर्ने कदमको रूपमा मूल्यांकन गरेको छ।
एमालेले आफ्नो अनुशासन कायम राख्दै, धैर्यताको प्रदर्शन गरेको तर यसलाई कमजोरी नभएको स्पष्ट पारेको छ। पार्टीले कानुनी शासनको सम्मान गर्दै झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेको छ।
विज्ञप्तिमा सरकारले भयरहित, निष्पक्ष र निर्भीक मतदान सुनिश्चित गर्न सकेको छैन भन्ने आरोपसमेत उठाइएको छ। साथै, निर्वाचन आयोगलाई सम्बन्धित दलबाट प्रस्टीकरण लिने र जवाफ सार्वजनिक गर्ने निर्देशन दिन एमालेले जोड दिएको छ। यदि कानुनी कारबाही नहुने हो भने त्यसबाट उत्पन्न हुने परिस्थिति र घटनाको जिम्मेवारी सरकार, निर्वाचन आयोग र रास्वपामा पर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।















Comments are closed