काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले शुभकामना सन्देश जारी गर्दै संघीयता, समावेशिता र पहिचानको सम्मानसहितको नयाँ नेपालको निर्माणमा शेर्पा समुदायको योगदान ऐतिहासिक तथा प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। हिमाली सभ्यता, संस्कृति र साहसको प्रतीकका रूपमा शेर्पा समुदायले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ।
संयोजक प्रचण्डले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समान अधिकार, सामाजिक न्याय र राष्ट्रिय एकताको यात्रामा यस पर्वले थप ऊर्जा र दृढता प्रदान गर्ने अपेक्षा गर्नुभएको छ।
“संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालको समुन्नत भविष्य निर्माणमा शेर्पा समुदायको भूमिका सधैं अग्रणी रहनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
ग्याल्पो ल्होसार शेर्पा समुदायको नयाँ वर्षका रूपमा विशेष उल्लास र सांस्कृतिक उत्साहका साथ मनाइँदै आएको पर्व हो। यस अवसरमा देश–विदेशमा रहेका शेर्पा समुदायले विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, भेषभूषा तथा सामूहिक शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।














Comments are closed