Shopping cart

  • Home
  • राजनिती
  • पाँचथरको जनआवाज : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’
देश

पाँचथरको जनआवाज : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’

Email :75

पाँचथर । पाँचथरको राजनीति बुझ्ने जो–कोहीका लागि ‘मिक्सो’ नाम कुनै नारा वा पोस्टरको उपज होइन। यो नाम संघर्ष, निरन्तरता र जनतासँगको सम्बन्धबाट बनेको पहिचान हो। हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विगत २७ वर्षदेखि पाँचथरका गाउँ–बस्ती, डाँडा–पाखा र चोक–चौतारामा जनतासँगै देखिँदै आएका नेता हुन्। संसद्को प्रतिस्पर्धामा उनी नयाँ अनुहार देखिए पनि राजनीतिक यात्रामा भने अनुभवी, खारिएको र व्यवहारिक नेतृत्वका रूपमा परिचित छन्।

 

मिक्सोको राजनीतिक जीवन जनयुद्धको कठिन समयबाट सुरु भएको हो। राज्यसत्तासँगको टकराव, भूमिगत संघर्ष र संगठन विस्तारको जिम्मेवारीका बीच उनले राजनीतिको कडा पाठ सिके। आन्दोलनकै क्रममा गम्भीर घाइते हुँदा पनि पछि नहट्नु उनको संघर्षशील स्वभावको उदाहरण हो। यो अनुभवले उनलाई राजनीतिक रूपमा मात्र होइन, मानवीय रूपमा पनि परिपक्व बनायो। त्यसैले उनी राजनीतिलाई पद र प्रतिष्ठाको साधनभन्दा जनसेवाको माध्यमका रूपमा बुझ्छन्।

 

जनयुद्धपछि शान्ति प्रक्रियामा प्रवेश गर्दा धेरै नेता सहर र केन्द्रतर्फ केन्द्रित भए। तर मिक्सो भने पाँचथरमै अडिग रहे। पार्टी संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनतासँग सम्बन्ध सुदृढ बनाउनु उनको प्राथमिकता रह्यो। विद्यालयको भवनदेखि खानेपानीको धारा, सिँचाइ कुलोदेखि सडक ट्र्याकसम्मका विषयमा उनी निरन्तर पहलकर्ताको भूमिकामा देखिए। यही निरन्तरताले उनलाई ‘चुनावमा मात्र देखिने नेता’ होइन, ‘सधैं साथ दिने नेता’को छवि दियो।

 

२०७४ पछिका वर्षहरूमा पाँचथरमा देखिएको विकाससँग मिक्सोको नाम स्वाभाविक रूपमा जोडिन्छ। तमोर करिडोरका लागि ६ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुनु केवल एउटा आयोजना मात्र होइन, पाँचथरको आर्थिक भविष्यसँग जोडिएको निर्णय थियो। शिवालय–गोरुवाले सडक, साना पुल निर्माण, खानेपानी आयोजना र सिँचाइ कुलो विस्तारजस्ता कार्यक्रमले ग्रामीण जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएका छन्। प्राकृतिक विपद्ले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा उनको पहल स्थानीयले आज पनि स्मरण गर्छन्।

 

मिक्सोको नेतृत्वको विशेषता भाषणको चमक होइन, कामको प्रभाव हो। उनी सभा र मञ्चभन्दा बढी गाउँको आँगन, खेतको डिल र स्वास्थ्य चौकीको कोठामा देखिन्छन्। बिरामीको उपचारका लागि अस्पतालसम्म पु¥याउने, विपद्का बेला राहत व्यवस्थापनमा खटिने र सामान्य नागरिकका प्रशासनिक समस्यामा समेत प्रत्यक्ष हस्तक्षेप गर्ने शैलीले उनलाई जनमुखी नेताका रूपमा स्थापित गरेको छ। यही कारण पार्टी कार्यकर्तामात्र होइन, फरक राजनीतिक धारणा राख्ने नागरिक पनि उनलाई भरोसायोग्य नेता मान्छन्।

 

हाल उनी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। पार्टीभित्र उनको संगठनात्मक क्षमता, अनुशासन र समन्वय कौशललाई उच्च मूल्याङ्कन गरिन्छ। पार्टी केन्द्रका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनको कार्यशैली र निष्ठाको खुलेर प्रशंसा गरेको बताइन्छ। प्रदेश सरकारमा इन्द्रबहादुर आङ्बो ‘मौसम’को नेतृत्वमा सुरु भएका विकास कार्यक्रमलाई संघीय तहबाट निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा मिक्सोलाई हेरिएको छ।

 

मिक्सोको राजनीतिक दृष्टिकोण वर्तमानमा सीमित छैन। उनी पाँचथरको भविष्यलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोडेर हेर्छन्। कृषि आधुनिकीकरण, स्थानीय स्रोतको उपयोग, पर्यटन प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उनको सोच आजको पुस्तासँग मेल खान्छ। जेनेरेसन–जीको भावना बुझ्ने, युवाको ऊर्जा र वृद्धको अनुभवलाई जोड्ने उनको शैलीले उनलाई बदलिँदो राजनीतिक परिवेशमा सान्दर्भिक बनाएको छ।

 

पाँचथरमा हाल तीव्र राजनीतिक प्रतिस्पर्धा छ। तर २७ वर्षको निरन्तर जनसम्पर्क, विकाससँग जोडिएको नाम, जनसेवामूलक राजनीति र केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय गर्न सक्ने क्षमताले हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई बलियो दाबेदार बनाएको छ। संसद् पुग्ने अवसर पाउँदा पाँचथरको आवाजलाई संघीय नीतिनिर्माणको केन्द्रसम्म पुर्‍याउने उनीप्रति जनअपेक्षा बढ्दो छ।

 

राजनीतिमा धेरैले नारा दिन्छन्, केहीले मात्र निरन्तरता देखाउँछन्। मिक्सो त्यही निरन्तरताको प्रतीक हुन्। सत्ता र पदभन्दा जनताको भरोसालाई मूल्य दिने उनको राजनीतिक यात्रा आज पाँचथरको भविष्यसँग गाँसिन थालेको छ। यही कारण उनी केवल उम्मेदवार होइनन्, पाँचथरको भरोसाको राजनीति बनेका छन्।

पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुने छ। १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि सबै पुरुष उम्मेदवार मात्र हुनु विशेष चर्चाको विषय बनेको छ। विभिन्न दलबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका आधारमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को स्थिति बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

Comments are closed

Related Post