काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो।
अध्यक्ष लिङ्देनले फरक मान्यतालाई निरुत्साहित गर्ने र दबाउने नियतबाट प्रसाईंलाई पटक–पटक पक्राउ गरिएको आरोप लगाउनुभएको छ। यस घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित भएको बताउनुभयो।
“राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने र दबाउने नियतबाट पटक–पटक पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,” लिङ्देनले भन्नुभएको छ, “राज्यको यस्तो व्यवहारले नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संविधानप्रदत्त अधिकारसमेत कुण्ठित गरेको छ।”
अध्यक्ष लिङ्देनले प्रसाईंलाई तत्काल रिहा गरी नागरिकका मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।















Comments are closed