Shopping cart

  • Home
  • समाज
  • अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार तीन जना स्रष्टालाई प्रदान गरिने
देश

अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार तीन जना स्रष्टालाई प्रदान गरिने

Email :45

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ यस वर्ष तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ ।

अमर नेम्वाङ स्मृति प्रतिष्ठानको पुरस्कार छनोट समितिको बैठकले निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बालाई सम्मान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङका अनुसार यो वर्ष वितरण हुन लागेको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कार स्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपैयाँ नगदसहित कदरपत्र प्रदान गरिनेछ ।

पुरस्कृत सापकोटा कान्तिपुर दैनिकको शनिबारीय परिशिष्ट ‘कोशेली’का संयोजक हुन् । यस्तै कवि सोक्तेन र साहित्यकार याक्थुम्बा मोफसलमा रहेर कविता तथा साहित्यिक लेखनमा सक्रिय छन् ।

उक्त पुरस्कार अघिल्लो वर्ष कृष्ण धरावासी, स्वप्निल स्मृति तथा त्यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरीराज बाँस्कोटालाई प्रदान गरिएको थियो ।

नेम्वाङले फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएका बेला २०७५ सालमा हृदयघात भएर निधन भएको थियो । पुरस्कार वितरण कार्यक्रमसंगै हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति र विपदमा परेकालाई सहयोग पनि गरिदै आएको आयोजक परिवारले जानकारी दिएका छन् ।

हरेक वर्ष माघ २६ गते उक्त पुरस्कार वितरण गरिँदै आएको छ । सोही कार्यक्रममा बाढी प्रभावित नागरिकलाई राहतसँगै फाल्गुनन्द गाउँपालिकाका सामुदायिक विद्यालयबाट २०८१ सालको एसइइ परीक्षामा उत्कृष्ठ नतिजा हासिल गरेका छात्र छात्रालाई छात्रबृत्ती समेत प्रदान गर्ने निर्णय भएको आयोजक स्वर्गीय अमर नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नेम्वाङले बताए ।

Comments are closed

Related Post