Shopping cart

  • Home
  • समाज
  • लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार : सह–संयोजक नेपाल
अर्थ

लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार : सह–संयोजक नेपाल

Email :74

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले सिसिटिभी क्यामेरा र भिडियोहरूमा स्पष्ट प्रमाण हुँदाहुँदै पनि दोषीहरूलाई पक्राउ नगरिनु आपत्तिजनक रहेको बताए ।

उनले भने, “सिसिटिभी क्यामेराले देखाइरहेको छ, तोडफोड गर्ने को–को हुन् थाहा भइरहेको छ, तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरीको सामानसहित मान्छे फेला परेका छन्, तर कुनै सजाय दिइँदैन। यसले सरकारको कार्यक्षमतामाथि प्रश्न खडा गरेको छ।”

आन्दोलनको नाममा भएको विध्वंस, आगजनी र लुटपाटलाई सरकारले उदारतापूर्वक हेरेको भन्दै उहाँले यसले भविष्यमा थप असुरक्षा निम्त्याउने चेतावनी दिए ।

सह–संयोजक नेपालले भदौ २३ गते भएको जेनजी आन्दोलनका मागहरू–भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा–उचित भएको बताए । तर, सोही आन्दोलनको आडमा २४ गते भएको घुसपैठ र विनाशलाई भने कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनको तर्क थियो ।

राजनीतिक स्थायित्वका बारेमा चर्चा गर्दै उनले दुई–तिहाइ बहुमतले कहिलेकाहीँ नेतृत्वमा अहङ्कार र सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति जन्माउने खतरा औँल्याए ।

उनले भने, “स्थायित्वले घमण्डी नेताहरू जन्माउने र नीतिको निरन्तरतामा समस्या खडा गर्ने गरेको छ। यसप्रति हामी सचेत हुनुपर्छ ।”

वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु र संरचनागत सुधारमा ध्यान दिनु रहेको बताए ।

Comments are closed

Related Post