Shopping cart

  • Home
  • स्वास्थ्य
  • दुधौली नगरपालिकामा भएको बेथितिको विरुध्द नेपाली कम्युनिष्ट पार्टीको ध्यानाकर्षण
अर्थ

दुधौली नगरपालिकामा भएको बेथितिको विरुध्द नेपाली कम्युनिष्ट पार्टीको ध्यानाकर्षण

Email :96

दुधौली । नेपाली कम्युनिष्ट पार्टी दुधौली नगरसमिति सिन्धुलीले नगरपालिकामा भएको बेथितिको विरुध्द ध्यानाकर्षण पत्र बुझाएको छ ।

दुधौली नगरपालिकामा देखिएका शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारसम्बन्धी विभिन्न क्षेत्रमा गम्भीर समस्या तथा विवादप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै नेकपाले ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

दुधौली नगरपालिकालाई नेकपा दुधौली नगरसमितिले बुझाएको ध्यानाकर्षण पत्रमा गत मंसिर २८ गते सञ्चालन गरिएको शिक्षक छनोट परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनु अघि नै उत्तरसहित सार्वजनिक भएको घटनालाई गम्भीर लापरबाहीको संज्ञा दिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ।

पार्टीले शिक्षक छनोट जस्तो संवेदनशील विषयमा गोपनीयता र निष्पक्षता कायम हुन नसक्दा सामुदायिक विद्यालय र नगरपालिकाप्रति जनविश्वास कमजोर भएको उल्लेख गरेको छ।

यस्तै, दुधौली नगरपालिका कृषक बाहुल्य क्षेत्र भएको र यस वर्ष धान भित्र्याउने समयमा परेको अविरल वर्षाका कारण कृषकहरूले ठूलो क्षति व्यहोर्नु परेको भन्दै क्षतिग्रस्त किसानहरूलाई यथोचित राहत उपलब्ध गराउन पार्टीले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ।

 

जनस्वास्थ्यतर्फ दुधौली नगर अस्पताल सिर्थौलीबारे विभिन्न विवाद सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले ढिलाइ नगरी छिटो सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र नियमित स्वास्थ्य सेवा तत्काल सुचारु गर्न पनि नेकपाले माग गरेको छ।

 

यसैगरी, सिन्धुली-जिनाखु-अरुणकुमार-कटारी सडकखण्ड अन्तर्गत जिनाखु खोलामा निर्माणाधीन पुलको विषयमा देखिएको लापरबाहीप्रति पनि पार्टीले आपत्ति जनाएको छ। उक्त पुल सिन्धुली-दुधौली-कटारी जोड्ने महत्वपूर्ण संरचना भएकाले निर्माण कार्यमा संलग्न ठेकेदार, प्राविधिक तथा अनुगमनकर्ताको जिम्मेवारी निर्धारण गरी दोषीमाथि कारबाही गर्न पार्टीले जोडदार माग गरेको छ।

 

नेकपा दुधौली नगरसमितिले स्थानीय सरकारलाई जनताको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारप्रति जिम्मेवार बन्न आग्रह गर्दै यथाशीघ्र समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ । ध्यानाकर्षण पत्रको हस्तान्तरण पश्चात नगरका कार्यबाहक नगरप्रमुखले नेकपाले उठाएको बिषय प्रति पालिका गम्भिर रहेको र यस सम्बन्धि यथाशिघ्र सम्बोधन हुनेमा प्रतिबद्धता जनाएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीका नेता तिर्थ दाहालले बताए ।

 

 

Comments are closed

Related Post