इलाम । रणबहादुर राई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा यतिबेला इलाम–१ मा चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट ‘तारा’ चिन्हमा उम्मेदवारी दिएका राईले स्थानीय तहमा स्थापित विकास र सुशासनको मोडेल अब संघीय तहमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई कार्यकालसम्म सूर्योदय नगरपालिका को नेतृत्व सम्हाल्दा उनले पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गर्दै नगरपालिकाको मुहार फेरेको जनधारणा छ । सडक सञ्जाल विस्तार, अलवेदर सडक निर्माण, खानेपानी आयोजना, विद्यालय र स्वास्थ्य चौकी स्तरोन्नतिजस्ता योजनाले स्थानीयको दैनिकीमा प्रत्यक्ष सुधार ल्याएको अनुभव गरिएको छ ।
राईले मेयर हुँदा सुरु गरेको ‘बाल बचत’ कार्यक्रमले बालबालिकाको आर्थिक सुरक्षामा दीर्घकालीन आधार तयार गरेको मानिन्छ । महिला सशक्तीकरणका लागि ‘छोरी–बुहारीलाई शिक्षा’ अभियान सञ्चालन गरी उच्च शिक्षामा पहुँच विस्तार गरिएको थियो । यसले आर्थिक रूपमा कमजोर परिवारका छोरी–बुहारीलाई अध्ययन निरन्तरतामा टेवा पुर्याएको छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण, अनुदान वितरण, प्रविधि विस्तार र बजार पहुँच सुदृढीकरणमार्फत उत्पादन वृद्धि भएको दाबी गरिएको छ । इलामको पहिचान चियाको न्यूनतम मूल्य निर्धारणमा गरिएको पहलले किसानलाई राहत पुगेको स्थानीयको भनाइ छ । पशुपालनतर्फ नस्ल सुधार, उत्पादन वृद्धि र रोगनियन्त्रणका कार्यक्रम अघि बढाइएका थिए ।
अब संघीय संसदमा पुगेपछि राईले ‘समृद्ध इलाम’ निर्माणलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन् । अलैँची, चिया, अदुवा, सुपारी, कफी र किवीजस्ता नगदे बालीको ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत निर्यातमुखी कृषि अर्थतन्त्र निर्माण गर्ने उनको लक्ष्य छ । किवी र गाई जोनलाई ‘सुपर जोन’मा स्तरोन्नति, आलु विकास केन्द्र स्थापना, कृषि तथा पशु बिमा घरदैलोमा विस्तार गर्ने कार्यक्रम उनले अघि सारेका छन् ।
इलामलाई कोसी प्रदेशकै ‘एजुकेसन हब’का रूपमा विकास गर्ने, विद्यालय तथा क्याम्पसमा डिजिटल ल्याब स्थापना गर्ने, विद्यालय तहदेखि कोडिङ तथा आइटी शिक्षा लागू गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । ‘इलाम डिजिटल हब’ स्थापना गरी युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने उनको योजना छ ।
पर्यटनतर्फ धार्मिक, सांस्कृतिक, कृषि र साहसिक पर्यटन सर्किट विकास गर्ने तथा मदन भण्डारी राजमार्ग लाई आर्थिक मेरुदण्डका रूपमा उपयोग गर्ने रणनीति अघि सारिएको छ । सुरक्षित सहर निर्माण, अन्तरपालिका तथा अन्तरजिल्ला सडक स्तरोन्नति, सुविधा सम्पन्न अस्पताल निर्माण र सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने योजना पनि उनको प्राथमिकतामा छ ।
भूमिहीन तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान, आदिवासी–जनजातिको भाषा, लिपि र संस्कृतिको संरक्षण, हात्ती तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र विपद् बिमा कार्यक्रम सञ्चालनजस्ता विषयलाई समेत उनले प्राथमिक एजेन्डामा राखेका छन् ।
स्थानीय तहमा परिणाममुखी नेतृत्वको उदाहरण प्रस्तुत गरेका राईलाई समर्थकहरूले ‘काम गर्ने नेतृत्व’को रूपमा चित्रित गरेका छन् । घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका राईले स्थानीय विकासको निरन्तरता संघीय तहसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याइरहेका छन् ।
सूर्योदयमा सम्भव भएको परिवर्तन अब इलामभरि सम्भव हुने विश्वासका साथ रणबहादुर राई संसद यात्रामा छन् । आगामी निर्वाचनले इलाम–१ का मतदाताले विकास, अनुभव र परिणाममुखी नेतृत्वलाई कस्तो मूल्याङ्कन गर्छन् भन्ने स्पष्ट पार्नेछ ।












Comments are closed