Shopping cart

  • Home
  • समाज
  • सुशासन, आर्थिक पुनःसंरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा सौम्य शक्तिको सुदृढीकरण आगामी बजेटका मुख्य आधार
अर्थ

सुशासन, आर्थिक पुनःसंरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा सौम्य शक्तिको सुदृढीकरण आगामी बजेटका मुख्य आधार

Email :109

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्दै बजेटका पाँच प्रमुख मार्गदर्शक सिद्धान्त प्रस्तुत गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा प्रस्तुत गरिएको उक्त दस्तावेजमा सरकारले सुशासन, आर्थिक पुनःसंरचना, पूर्वाधार विकास, सामाजिक उन्नयन तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटको मुख्य आधार बनाएको उल्लेख गरिएको छ ।

अर्थमन्त्री वाग्लेले नेपालको संविधान, लोकतान्त्रिक मूल्य र असल शासनका आदर्शलाई आत्मसात् गर्दै नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापना गर्ने दिशामा सरकार अघि बढेको बताए ।

उनले सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राखेर बजेट निर्माण भइरहेको जानकारी दिए ।

सरकारले आगामी बजेटका लागि ‘सुशासनको लाभांश’, ‘अर्थतन्त्रको पुनःसंरचना’, ‘सन्निकटताका लागि एकीकृत पूर्वाधार’, ‘सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार’ तथा ‘सौम्य शक्तिको सुदृढीकरण’लाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ ।

सुशासनको लाभांशअन्तर्गत नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी राज्यको सेवा प्रवाहलाई छिटो, विश्वसनीय र प्रविधिमैत्री बनाइने ,सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवाञ्छित मध्यस्थताको अन्त्य गर्दै सार्वजनिक संस्थाहरूको सुधारमा जोड दिइने, सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट र सार्वजनिक स्रोतको दुरुपयोगविरुद्ध कडा अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

अर्थतन्त्रको पुनःसंरचनाअन्तर्गत लगानी र उत्पादनमुखी अर्थतन्त्र निर्माण, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना तथा डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्ययुक्त कृषि क्षेत्रलाई प्राथमिकता दिने नीति लिइने ,अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट र कार्टेलिङ अन्त्य गरी सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गरिने ,एकीकृत पूर्वाधार विकासमार्फत सडक, हवाई, ऊर्जा, सहरी तथा डिजिटल पूर्वाधारलाई समन्वित ढङ्गले विकास गरिने,जलवायु परिवर्तन र विपद् जोखिमलाई ध्यानमा राख्दै उत्थानशील पूर्वाधार विकासको अवधारणालाई बजेटले प्राथमिकता दिने उल्लेख गरिएको छ ।

सामाजिक उन्नयनअन्तर्गत गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सीपमा समान पहुँच सुनिश्चित गर्ने तथा कृषि, लघु तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत मध्यम वर्ग विस्तार गर्ने , प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी वृद्धि गर्दै रोजगारमुखी शिक्षा प्रणाली विकास गरिने सरकारको योजना छ ।

सौम्य शक्तिको सुदृढीकरणअन्तर्गत आर्थिक कूटनीति, पर्यटन, सांस्कृतिक पहिचान र प्रविधिको उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति र विश्वसनीयता विस्तार गर्ने नीति सरकारले अघि सारेको छ ।

विदेशमा रहेका नेपालीको सीप, पुँजी र सञ्जाललाई राष्ट्रिय विकासमा परिचालन गर्न कानुनी तथा नीतिगत सुधार गरिने योजना छ ।

Comments are closed

Related Post