दुधौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीको दुधौली नगरपालिकामा बुधबार छापामारी विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको छ।
नगरपालिकाका विभिन्न विषयमा अख्तियारमा उजुरी परेपछि आयोगको बर्दिबासको टोलीले छापा मारेको हो। स्रोतका अनुसार शिक्षामा भएको अनियमितता, शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषय, साथै खरिद तथा भुक्तानी प्रक्रियामा अनियमितता भएको आरोपमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो।
छापाका क्रममा नगरपालिकाका महत्वपूर्ण फाइलहरू सिलबन्दी गरी बरामद गरिएको स्रोतले जनाएको छ। टोलीले विभिन्न विकास आयोजनासँग सम्बन्धित ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन तथा खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरूको प्रतिलिपि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दुधौली नगरपालिकामा खरिद तथा भुक्तानी प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेकाले सोही आधारमा थप अनुसन्धान अघि बढाइएको हो।
यस अघि नै नेपाली कम्युनिष्ट पार्टी दुधौली नगरसमिति सिन्धुलीले नगरपालिकामा भएको बेथितिको विरुध्द ध्यानाकर्षण पत्र बुझाउँदै बेथितिको निस्पक्ष छानविनको माग समेत गरेको थियो । दुधौली नगरपालिकामा देखिएका शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारसम्बन्धी विभिन्न क्षेत्रमा गम्भीर समस्या तथा विवाद साथै भुत्तानि प्रकृया प्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै नेकपाले ध्यानाकर्षण पत्र बुझाएको नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीका नेता तिर्थ दाहालले बताए ।
नगरपालिकालाई नेकपा दुधौली नगरसमितिले बुझाएको ध्यानाकर्षण पत्रमा गत मंसिर २८ गते सञ्चालन गरिएको शिक्षक छनोट परीक्षामा उत्तरसहित प्रश्नपत्र सार्वजनिक भएको घटना,दुधौली नगर अस्पताल सिर्थौलीको सेवा प्रवाहसँगका विषयहरु, सिन्धुली-जिनाखु-अरुणकुमार-कटारी सडकखण्ड अन्तर्गत जिनाखु खोलामा निर्माणाधीन पुलको विषय सहित स्थानीय शिक्षा स्वास्थ्य कृषि पूर्वाधार रोजगार र जनसरोकारका सवालमा स्थानीय निकायमा भएक विकृति विसंगतिको विरुध्द ध्यानाकर्षण गराएको थियो ।














Comments are closed