काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
होलीको अवसरमा एक शुुभकामना सन्देश जारी गर्दै नेता नेपालले पहाडी क्षेत्रमा आज र तराई–मधेसमा भोलि मनाइने नेपालीहरूको महत्वपूर्ण पर्व होली (फागु) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा उल्लासपूर्ण ढंगले मनाइने रङ्गहरूको पर्व होलीले प्रत्येक नेपालीको जीवनमा पनि खुशीयाली, उमंग र सुखद भविष्य ल्याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले होलीलगत्तै विशेष परिस्थितिमा हुन गइरहेको आम निर्वाचनतर्फ पनि ध्यानाकर्षण गराउँदै भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र देशभित्रै व्यापक रोजगारी सिर्जना गर्न निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ । जेन–जी पुस्ताको नेतृत्वमा उठेका आवाज र आन्दोलनको मागलाई सम्बोधन गर्दै कुनै पनि नेपाली नागरिक बाध्यतावश विदेशिनु नपर्ने अवस्था निर्माण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।
उहाँले मतदाताहरूलाई कुनै पनि प्रकारको बहकाउ वा भ्रममा नपरी गम्भीरतापूर्वक सोचेर मतदान गर्न हार्दिक अपील गर्नुभएको छ।
नेपाल विविध धर्म, संस्कृति र परम्पराले सम्पन्न देश भएको उल्लेख गर्दै उहाँले यहाँका चाडपर्वहरूले आपसी सम्बन्ध सुदृढ गर्ने, राष्ट्रिय एकता निर्माण गर्ने तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। होली पर्वलाई आपसी एकता, सहिष्णुता र सद्भावको सन्देशका साथ सभ्य र मर्यादित रूपमा मनाउन तथा हाम्रा कला–संस्कृतिको जगेर्ना गर्ने अवसरका रूपमा लिन उहाँले सबैमा आग्रह गर्नुभएको छ।
अन्त्यमा, रङ्गहरूको पर्व होलीलाई हर्षोल्लासका साथ मनाउँदै सम्पूर्ण नेपालीमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।















Comments are closed