Shopping cart

  • Home
  • राजनिती
  • समृद्ध मकवानपुर निर्माणका लागि पूर्वाधार, सुशासन र रोजगारीमा विशेष जोड
देश

समृद्ध मकवानपुर निर्माणका लागि पूर्वाधार, सुशासन र रोजगारीमा विशेष जोड

Email :61

बागमती । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार बिजय गौतमले आज विस्तृत ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्ध, पारदर्शी र जनउत्तरदायी मकवानपुर निर्माणको स्पष्ट खाका प्रस्तुत गरेका छन् ।

हेटौँडामा आज बिहान आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो निर्वाचन अभियानको मूल आधार बनाएको बताए । “राजनीति सत्ता प्राप्तिको माध्यम मात्र होइन, जनताको जीवनस्तर उकास्ने साधन हो,” भन्दै उम्मेदवार गौतमले पारदर्शिता, जवाफदेहिता र जनसरोकारका विषयलाई केन्द्रमा राखेर नीति तथा कानून निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वाधार विकासमा दीर्घकालीन दृष्टि

भौतिक पूर्वाधारतर्फ उनले ग्रेटर हेटौँडा चक्रपथ निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे । हेटौँडालाई व्यवस्थित, सुगम र आधुनिक सहरका रूपमा विकास गर्न चक्रपथ निर्माण अपरिहार्य रहेको उनको धारणा थियो। साथै हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

यातायात पूर्वाधार सुदृढीकरणका लागि कर्रा खोला करिडोर, राप्ती खोला करिडोर तथा वागमती नदी करिडोर निर्माण गरी सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ । हेटौँडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति, ग्रामीण बस्तीमा बाह्रै महिना सञ्चालन हुने सडक निर्माण तथा टोलदेखि वडा कार्यालय र वडा कार्यालयदेखि पालिका केन्द्रसम्म सहज सडक सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत उनले अघि सारेका छन् ।

त्यसैगरी राईगाउँ–क्यान्टीन मोटर बाटो, निजगढ–दोभान–फापरबारी हुँदै काठमाडौँ जोड्ने मार्ग, शहिद रुद्रमार्ग–कान्तिलोकपथ जोड्ने सडक तथा ठिंगन–मन्थली–बेतिनी–भोर्लेनी हुँदै जनमुक्ति मार्ग जोड्ने सडकलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

आधारभूत सेवामा सर्वसुलभ पहुँच

उम्मेदवार गौतमले प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच तथा सबै वडामा इन्टरनेट र डिजिटल सेवा विस्तार गर्ने लक्ष्य अघि सारेका छन् । डिजिटल प्रविधिको उपयोगमार्फत ई–सेवा विस्तार गरी सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने उनको योजना छ ।

राजमार्ग ऐनअन्तर्गत हेटौँडा नगर विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको सुनिश्चितता गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । एकीकृत नमुना बस्ती विकासमार्फत सुरक्षित, व्यवस्थित र आधुनिक आवास प्रणाली विस्तार गर्ने लक्ष्यसमेत उनले सार्वजनिक गरेका छन् ।

सुशासन र प्रत्यक्ष जनसंवाद

भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन स्थापना आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्दै उनले अनियमितता र ढिलासुस्तीविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद” कार्यक्रम नियमित सञ्चालन गरी नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष सुन्ने र समाधान गर्ने संयन्त्र विकास गर्ने योजना पनि उनले अघि सारेका छन् ।

कृषि, उद्योग र रोजगारीमा विशेष जोड

कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा विस्तार तथा व्यावसायिक कृषि जोन/पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको योजना छ । गढी, बकैया, बागमती र हेटौँडाका विभिन्न वडामा व्यावसायिक कृषि प्रवर्द्धन गरी किसानलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

वागमती, कर्रा र राप्ती खोलाको उकास जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्ने, पशुपालन र दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै व्यवस्थित बजार सुनिश्चित गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गर्ने रणनीति उनले सार्वजनिक गरेका छन् ।

औद्योगिक विकासका सन्दर्भमा हेटौँडा औद्योगिक क्षेत्रको विस्तार, नयाँ उद्योग स्थापना, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्द्धन तथा युवालाई सहुलियत ऋण र स्टार्टअप सहयोगमार्फत उद्यमशीलता विकास गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ। यसबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण

हेटौँडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रलाई संरक्षण तथा सम्बर्द्धन गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन् । होमस्टे प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिइने बताइएको छ।

समग्रमा उम्मेदवार बिजय गौतमको ११ बुँदे प्रतिबद्धतापत्र पूर्वाधार विकास, सुशासन, कृषि आधुनिकीकरण, औद्योगिक विस्तार, डिजिटल सेवा र पर्यटन प्रवर्द्धनलाई समेट्दै समग्र मकवानपुरको दीर्घकालीन विकासको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत भएको छ । विकास र परिवर्तनको स्पष्ट दृष्टिकोणसहित प्रस्तुत गरिएको यो प्रतिबद्धता मतदातामा सकारात्मक ऊर्जा र भरोसा जगाउने अपेक्षा गरिएको छ ।

Comments are closed

Related Post