सिन्धुली । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबिच सहकार्य र समन्वय बिना शैक्षिक गुणस्तर सुधार असम्भव हुने बताउनु भएको छ ।
तीनपाटन गाउँपालिका-५ स्थित श्री माध्यमिक विद्यालय मझुवा दोभानको ५१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रसम्म शिक्षाको पहुँच विस्तार गर्न राज्यको स्पष्ट दायित्व रहेको बताउनु भयो ।

“शिक्षा क्षेत्रमा देखिएका समस्याहरू अझै जस्ताको तस्तै छन्, तिनको समाधान गर्नु सरकारको जिम्मेवारी हो ।”(उहाँले भन्नु भयो(“स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबिच सहकार्य र समन्वय बिना शैक्षिक गुणस्तर सुधार सम्भव छैन ।”
विद्यालय तहको पाठ्यक्रममा स्थानीय विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसले विद्यार्थीको सिकाइ उपलब्धि र अध्ययन वातावरण सुधार हुने भन्दै शिक्षक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गर्नु भयो ।
तथा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक समेत रहनु भएका नेता र नेपालले देशमा देखापरेको राजनीतिक, सामाजिक र आर्थिक सङ्कटको निकासका लागि बामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एकताको सन्देशले मात्र देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउन सकिने उहाँको भनाई थियो । उक्त अवसरमा विद्यालयमा निर्माण गरिएको २४ कोठे नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आजको आवश्यकता प्रविधिमैत्री शिक्षा भएको उल्लेख गर्नु भयो ।
पूर्व प्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक परिस्थिति र संगठनात्मक निकासका विषयमा चर्चा गर्दै बामपन्थी घटकहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको स्पष्ट पार्नु भयो ।
उहाँले राजनीतिक अस्थिरता, युवा पुस्ताको आक्रोश, तथा विगतमा भएका हिंसात्मक घटनाले देश संकटमा परेको उल्लेख गर्दै शान्ति, विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि एकताबद्ध कम्युनिष्ट शक्ति आवश्यक भएको बताउनु भयो ।

“विचार र सिद्धान्त बलियो भए पार्टी बलियो हुन्छ ।”(उहाँले भन्नु भयो(“अराजकता होइन, संयम र अनुशासनबाट जनताको मन जित्न सकिन्छ ।” नेपाली कम्युनिष्ट पार्टी सहिदहरूको त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोग मात्र होइन, ऐतिहासिक चेतना र भविष्यसँग संवाद गर्न सक्ने क्षमता नै पार्टीको बलियो आधार भएको बताउनु भयो ।
प्रविधि र विश्वव्यापी चेतनासँग हुर्किएको जेन–जी युवा पुस्ता नेपाली कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको दाबी गर्दै उहाँले ठूलो सङ्ख्यामा युवाहरू पार्टीसँग आबद्ध रहेको जानकारी दिनु भयो ।
“पार्टीको विचार सही छ, भविष्य छ भन्ने विश्वास जेन-जी युवाहरूले व्यक्त गरेका छन् ।”-उहाँले भन्नु भयो । युवाहरूले उठाएका गुनासाहरू आम नागरिककै गुनासो भएको उल्लेख गर्दै उहाँले विभिन्न राजनीतिक दलका कार्यक्रममा देखिएको जनसहभागिताले जनतामा अझै पनि राजनीतिक दलप्रति विश्वास कायम रहेको स्पष्ट हुने बताउनु भयो ।

राजनीतिक दलहरू जनताबाट टाढा भइसकेका छन् भन्ने भाष्य गलत भएको उहाँको ठम्याइ थियो । आगामी फागुन महिनामा हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उहाँले निर्वाचनको मिति परिवर्तन भए स्वीकार्य हुन सक्ने तर चुनाव नै आलटाल गर्ने प्रवृत्ति अस्वीकार्य हुने स्पष्ट पार्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार रमौलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।














Comments are closed