धादिङ । धादिङ क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आज गजुरी गाउँपालिकाका वडा नं. ६, ७ र ८ का विभिन्न टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। घर–घरमा पुगेर गरिएको संवाद कार्यक्रम उत्साहपूर्ण र जनसहभागीतामूलक बनेको छ।

मतदाता भेटघाटका क्रममा पाण्डेले सडक पूर्वाधारको स्तरोन्नति, कृषि उपजको सुनिश्चित बजार व्यवस्थापन र युवामैत्री रोजगारी कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले स्थानीय उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्दै किसानलाई उचित मूल्य दिलाउने, ग्रामीण सडक सञ्जाल विस्तार गर्ने र स्वरोजगारमूलक तालिम तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

घरदैलोका क्रममा उनले मतदाताका भावना, सुझाव र अपेक्षालाई ध्यानपूर्वक सुन्दै विकास, सामाजिक सुरक्षा, पूर्वाधार सुदृढीकरण र रोजगारीका सवालमा स्थानीय आवाजलाई नीति निर्माणको आधार बनाउने बताएका छन्।
“यहाँहरूले दिनुभएको माया, आशीर्वाद र भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ। म जनताको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु,” पाण्डेले जनतामाझ व्यक्त गरे।

उनले धादिङ–१ लाई समृद्ध, सुरक्षित र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै पर्यटन, कृषि–आधारित उद्योग र साना–मझौला उद्यम प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। साथै, युवा विदेश पलायनको बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै आयआर्जनका अवसर विस्तार गरिने बताए।
स्थानीय बासिन्दाहरूका अनुसार यो घरदैलो कार्यक्रम औपचारिकतामा सीमित नभई वास्तविक संवादमा केन्द्रित छ, जसले मतदातामा भरोसा र उत्साह थपिएको छ। जनताको अपेक्षा र विश्वासलाई साथमा लिएर अघि बढेको पाण्डेको अभियानले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।














Comments are closed