Shopping cart

  • Home
  • राजनिती
  • संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
देश

संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Email :46

काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयहरूको तत्काल जवाफ दिन सरकारलाई रुलिङ (निर्देशन) गरेका छन्। जारी प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर सवालहरूमा सरकारको ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।

सभामुख अर्यालले बैठकमा माननीय सदस्यहरूद्वारा उठाइएका गम्भीर र महत्त्वपूर्ण विषयहरूको जवाफ दिन सरकारलाई निर्देशित गरे। उनले देशका विभिन्न भागमा मनसुन सक्रिय भएसँगै सुरु भएको बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सरकारले गरेका पूर्वतयारी र उद्धारका कार्यहरूबारे संसद्‌लाई जानकारी गराउनसमेत भनेका छन्।

संसद्‌मा रुलिङ गर्दै सभामुख अर्यालले भने, “माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।”

प्रतिनिधिसभाका बैठकहरूमा सांसदहरूले देशभर अविरल वर्षाका कारण राजमार्गहरू अवरुद्ध भएको, नदी किनारका बस्तीहरू जोखिममा परेको र राहत तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। संसद्‌मा लगातार आवाज उठ्दा पनि सरकारी पक्षबाट चित्तबुझ्दो सम्बोधन नभएको गुनासोपछि सभामुखबाट यस्तो निर्देशन आएको हो।

Comments are closed

Related Post