काठमाडौँ । विश्व आत्महत्या रोकथाम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २००३ देखि प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइँदै आएको यो दिवस सन् २०२४ देखि २०२६ सम्मको लागि आत्महत्याको कथा परिवर्तन गर्दै भन्ने विषयवस्तु अन्तर्गत मनाइँदैछ। यस वर्ष नेपालमा “संवाद सुरु गरौं, आत्महत्याको धारणा परिवर्तन गरौं” भन्ने नारासहित चेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका छन्। दिवसले आत्महत्यासम्बन्धी मौनता, भ्रम र कलङ्क तोड्दै खुला संवाद, सहानुभूति र समर्थनको आवश्यकता औंल्याएको छ।
आत्महत्याका विषयमा समाजमा रहेको मौनता र नकारात्मक धारणालाई हटाउँदै मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे खुला रूपमा संवाद, सहानुभूति र सहयोगको वातावरण बनाउन यस वर्ष जोड दिइएको छ ।
नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा ५६ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ, जुन त्यसअघिको १० वर्षको तुलनामा बढी हो ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । यो औसतमा दैनिक करिब १८ जनाको मृत्यु बराबर हो ।
मनोविद् तथा मनोचिकित्सकहरूले आत्महत्या रोकथाममा परिवार, समुदाय, स्वास्थ्य क्षेत्र, शैक्षिक संस्था र राज्यका सबै निकायको समान भूमिका आवश्यक रहेको बताएका छन् । समयमै समस्या पहिचान गरी सुन्ने, साथ दिने र आवश्यक सहयोग उपलब्ध गराउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।













Comments are closed