काठमाडौँ । धर्मगुरु स्याल्पा तेञ्जिङ रिन्पोक्षेले आधुनिक प्रविधिको तीव्र विकाससँगै मानवीय चेतना, करुणा र आध्यात्मिक अनुभूतिको महत्व झन् गहिरिँदै गएको बताउनु भएको छ ।
“Naked Mindfulness” कार्यक्रममा विशेष संवाद गर्दै उहाँले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) ले मानव जीवनलाई सहज बनाउन सक्ने भए पनि “परम बुद्धिमत्ता” अर्थात् आध्यात्मिक जागरणको स्थान लिन नसक्ने स्पष्ट गर्नुभयो।
रिन्पोछेले “वास्तविक बुद्धिमत्ता स्वाभाविक र बिना शर्त हुने” उल्लेख गर्दै मानिसले बाह्य उपलब्धिभन्दा आन्तरिक शान्ति र चेतनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार आजको संसार प्रविधि, सामाजिक सञ्जाल र निरन्तर ध्यान भंग गर्ने वातावरणले भरिएको भए पनि मानव जीवनको वास्तविक आनन्द “Natural Ease” अर्थात् स्वाभाविक सहजतामा रहेको छ।
विश्वशान्तिका अभियन्तासमेत रहनुभएका रिन्पोछे हाल Universal Peace Sanctuary Foundation मार्फत Lumbini मा अन्तर्राष्ट्रियस्तरको शान्ति केन्द्र निर्माण अभियानमा जुट्नुभएको छ। उहाँले “युद्धभन्दा शान्तिलाई बढी आकर्षक बनाउने” लक्ष्यसहित लुम्बिनीलाई विश्वशान्तिको साझा केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो।
संवादका क्रममा रिन्पोछेले आफ्नो बाल्यकालका रोचक अनुभव पनि सुनाउनुभयो। सानै उमेरदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपरेको उल्लेख गर्दै उहाँले आध्यात्मिक यात्रामा गुरुको महत्व अत्यन्त गहिरो हुने बताउनुभयो। उहाँले आफ्नो मूल गुरु Chatral Sangye Dorje Rinpoche सँगको भेट जीवनकै महत्वपूर्ण मोड भएको स्मरण गर्नुभयो। साथै, परमपूजनीय Dilgo Khyentse Rinpoche सँगको सान्निध्यले पनि आफूलाई गहिरो आध्यात्मिक प्रेरणा दिएको उहाँको भनाइ थियो।
रिन्पोछेले पछिल्लो समय विश्वभर फैलिएको “माइन्डफुलनेस उद्योग” प्रति पनि प्रश्न उठाउनुभयो। उहाँका अनुसार साँचो माइन्डफुलनेस कुनै व्यापारिक ब्रान्ड नभई आफ्नो वास्तविक चेतनासँग प्रत्यक्ष रूपमा जोडिने अनुभव हो। उहाँले इच्छा, क्रोध र अहंकारजस्ता नकारात्मक भावनालाई दबाउने होइन, सचेत उपस्थितिमार्फत ज्ञान र करुणामा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उहाँले करुणालाई नै “सर्वोच्च बुद्धिमत्ता” को रूपमा व्याख्या गर्दै भन्नुभयो, “जहाँ साँचो करुणा हुन्छ, त्यहाँ अज्ञानता रहँदैन।” मृत्युबारे मानिसमा रहेको डर पनि अज्ञानताबाट उत्पन्न हुने उल्लेख गर्दै उहाँले वर्तमान क्षणलाई पूर्ण रूपमा जिउन सके जीवन र मृत्यु दुवैप्रति सहजता विकसित हुने बताउनुभयो।
रिन्पोछेको यो संवादले आधुनिक युगमा प्रविधि र आध्यात्मिकताको सन्तुलन, विश्वशान्तिको आवश्यकता तथा मानव जीवनमा करुणा र चेतनाको महत्वबारे गहिरो सन्देश दिएको छ।














Comments are closed