Shopping cart

  • Home
  • राजनिती
  • वर्षमान पुनद्वारा प्रधानमन्त्री समक्ष आर्थिक रूपान्तरणकाे स्पष्ट रोडम्याप ल्याउन माग
देश

वर्षमान पुनद्वारा प्रधानमन्त्री समक्ष आर्थिक रूपान्तरणकाे स्पष्ट रोडम्याप ल्याउन माग

Email :67

काठमाडौं । वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष विकासका प्राथमिकताबारे स्पष्ट र दूरदर्शी सुझाव प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगको छलफलमा पुनले राष्ट्रिय हित, क्षेत्रीय सन्तुलन र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै ठोस एजेन्डा अघि सारेका हुन् ।

पूर्वअर्थमन्त्री पुनले विशेष गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गर्दै अन्तर्राष्ट्रिय उडान विस्तारका लागि भारतसँग सक्रिय कूटनीतिक पहल आवश्यक रहेको स्पष्ट पारे । उनका अनुसार भैरहवा विमानस्थल सञ्चालनले पर्यटन, रोजगारी र क्षेत्रीय अर्थतन्त्रमा ठूलो ऊर्जा थप्नेछ । “अब ढिला नगरी श्रम डेस्क स्थापना र नियमित अन्तर्राष्ट्रिय उडानमार्फत पर्यटनको ढोका खोल्नुपर्छ,” उनले जोड दिए ।

यसैगरी पुनले दाङ–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने रणनीतिक महत्त्वको शहीद मार्ग निर्माणलाई तीव्रता दिन आग्रह गरे। उक्त मार्गले उत्तरी सीमा क्षेत्रसम्म पहुँच विस्तार गरी व्यापार, पर्यटन र सुरक्षा दृष्टिले महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

ऊर्जा क्षेत्रमा पनि पुनले स्पष्ट प्राथमिकता प्रस्तुत गरे । रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजना लाई शीघ्र अघि बढाउनुपर्नेमा जोड दिँदै उनले यसले स्थानीय विकाससँगै राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

आर्थिक रूपान्तरणका दृष्टिले पुनले ‘गेम चेन्जर’का रूपमा अघि सारिएको गण्डकी आर्थिक त्रिभुज परियोजना पुनः कार्यान्वयनमा ल्याउनुपर्नेमा विशेष जोड दिए । भरतपुर, बुटवल र पोखरालाई केन्द्र बनाएर निजी क्षेत्रसँग साझेदारीमा अघि बढाइने यो परियोजनाले नयाँ औद्योगिक तथा आर्थिक केन्द्र सिर्जना गरी देशको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने उनको विश्वास छ ।

त्यस्तै, देशकै उर्बर भूमि मानिने लुम्बिनी प्रदेशमा सिँचाइ, मल, उन्नत बीउ, आधुनिक कृषि प्रविधि र बजार व्यवस्थापनलाई एकीकृत गर्दै कृषि क्षेत्रको रूपान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए ।

पुनले सबै १६५ निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा विकास आयोजना वितरण गर्नुपर्ने सुझाव दिँदै समावेशी र सन्तुलित विकासमा जोड दिए ।

समग्रमा, पुनका सुझावहरूले तत्कालीन आवश्यकतासँगै दीर्घकालीन आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको देखिन्छ, जसले सरकारलाई प्रभावकारी नीति निर्माणतर्फ अग्रसर गराउन महत्वपूर्ण आधार प्रदान गर्न सक्छ । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए।

Comments are closed

Related Post