Shopping cart

  • Home
  • राजनिती
  • लोकतन्त्रको सुदृढीकरणप्रति थप प्रतिबद्धता आवश्यक: माधवकुमार नेपाल
देश

लोकतन्त्रको सुदृढीकरणप्रति थप प्रतिबद्धता आवश्यक: माधवकुमार नेपाल

Email :102

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रलाई अझ सुदृढ बनाउँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

 

प्रजातन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता नेपालले निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध जनताको संघर्षबाट लोकतान्त्रिक प्रणालीको प्रारम्भ भएको ऐतिहासिक दिनका रूपमा प्रजातन्त्र दिवसलाई स्मरण गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साथै, राष्ट्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

सन्देशमा उनले जनताको त्याग, संघर्ष र बलिदानबाट “सार्वभौमसत्ता जनतामा निहित हुन्छ” भन्ने मान्यता स्थापित हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव भएको उल्लेख गरेका छन्। प्रजातन्त्र दिवस इतिहासको स्मरण मात्र नभई लोकतन्त्रप्रतिको प्रतिबद्धता पुनः दृढ गर्ने अवसर भएको उनको भनाइ छ।

 

नेपालले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना तथा गरिबी, बेरोजगारी, असमानता, विभेद र सामाजिक कुरीतिविरुद्ध एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले राष्ट्रिय स्वाभिमान, अखण्डता र जनअधिकारका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान पुर्‍याउने सम्पूर्ण महान् व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले सबै नेपालीमा एकता, उत्साह र सकारात्मक परिवर्तनको प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

 

Comments are closed

Related Post