काठमाडौं । उपचारका लागि भन्दै हङकङ पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
जेनजी आन्दोलतको क्रममा कुटपीटबाट घाइते भए पछि उपचारको क्रममा विदेश रहेका देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसको अवसरमा जारी गरेको सन्देशमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहकार्यको बाटो अपनाउन आग्रह गरेका छन्। जननायक बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै “राष्ट्रियता, प्रजातन्त्र र समाजवादसहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ,” भनेका छन्।
विदेशमा रहे पनि आफ्नो मन र चिन्ता देश र जनताप्रति नै केन्द्रित रहेको उल्लेख गर्दै उनले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास, र प्रतिशोध होइन सहकार्यको खाँचो रहेको बताएका छन्। साथै, लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने गतिविधिविरुद्ध दृढतापूर्वक उभिन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई उनले एकजुट हुन आह्वान गरेका छन्।
उनले छिट्टै नेपाल फर्केर लोकतान्त्रिक आन्दोलन र संविधानवादलाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, उनी नेपाल कहिले आउने भन्नेबारे भने खुलाइएको छैन।
देश चुनावमा होमिएका बेला गत फागुन १७ गते स्वास्थ्य उपचारका लागि भन्दै उनी सिंगापुर उडेका थिए। त्यसअघि भारतमा रहेकी उनकी पत्नी आरजू राणा देउवा पनि उतैबाट सिंगापुर गएकी थिइन्।
नेपालमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी रहनुका साथै पक्राउ पुर्जीसमेत जारी भएको छ।















Comments are closed