Shopping cart

  • Home
  • स्वास्थ्य
  • लागू पदार्थ सेवन गरी सवारी चलाउने १० चालक प्रहरी नियन्त्रणमा
देश

लागू पदार्थ सेवन गरी सवारी चलाउने १० चालक प्रहरी नियन्त्रणमा

Email :56

हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सञ्चालन गरिएको विशेष ‘ड्रग टेस्ट’ अभियानका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाइरहेका १० जना चालक पक्राउ परेका छन्।

३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका-२ चौकीटोल तथा वडा नम्बर १५ रातोमाटे क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाका स्वास्थ्यकर्मीको सहकार्यमा सञ्चालन भएको अभियानमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक र निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो।

प्रहरीका अनुसार दुई चरणमा सम्पन्न परीक्षणमा कुल ११० जना चालकको ड्रग टेस्ट गरिएकोमा १० जनामा लागू पदार्थ सेवन गरेको पुष्टि भएको हो। लागू पदार्थ सेवन गरेको पाइएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनकुमार काफ्लेका अनुसार लागू पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ। साथै, यस्ता निगरानी तथा परीक्षण अभियान आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने उनले बताए।

प्रहरीले लागू पदार्थको असरमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले चालकहरूलाई जिम्मेवार र सचेत बन्न आग्रह गरेको छ। सडक सुरक्षालाई थप सुदृढ बनाउन निगरानी तथा जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिइएको बताइएको छ।

Comments are closed

Related Post