गौर । कर्फ्यू जारी गरिए पनि रौतहटको गौरका भित्री बस्तीहरूमा आगजनीका घटना रोकिएका छैनन् । जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरेपछि मुख्य सडक क्षेत्र शान्त देखिए पनि भित्री टोलहरूमा तनाव कायम रहेको छ।
शनिबार गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी गरिएको छ। यसअघि प्रदर्शनका क्रममा ६ मोटरसाइकल र २ जिपमा आगजनी भएको प्रहरीले जनाएको छ।
तनाव गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपपछि सुरु भएको हो। मस्जिदमा प्रार्थनाका क्रममा बाजा बजाएको विषयलाई लिएर विवाद चर्किँदा वडा नम्बर ४, ५ र ६ मा झडप फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। केही सवारीसाधनमा आगजनी र तोडफोड हुनुका साथै केही व्यक्ति सामान्य घाइते भएका छन्।
हिंसा थप फैलिन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।














Comments are closed