रोल्पा । चुनावी माहोल तातिँदै जाँदा रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)प्रति जनविश्वास र आकर्षण बढ्दो रूपमा देखिएको छ। नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादी परित्याग गर्दै ३५ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।
सुनछहरी गाउँपालिका–६, फगाममा आयोजित चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना तथा मंगोल नेसनल अर्गनाइजेसनका जिल्ला सदस्य भुलबहादुर पुनसमेत नेकपामा समाहित भएका छन्। भुलबहादुर पुन २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारसमेत रहेका थिए।
यसअघि पनि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिनामै नेकपामा प्रवेश गरिसकेका थिए। यस घटनाले रोल्पामा नेकपाको संगठनात्मक आधार झनै मजबुत बन्दै गएको संकेत गरेको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार पुनले नवप्रवेशी नेता–कार्यकर्तालाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने स्पष्ट पारे। उनले विकास, समृद्धि र स्थायित्वका लागि नेकपा नै विश्वसनीय विकल्प भएको उल्लेख गर्दै जिल्लामा सुरु भएका चालू विकास योजनाहरू सम्पन्न गर्न आफ्नो जित आवश्यक रहेको बताए।
“रोल्पाको समग्र विकास, युवाका रोजगारीका अवसर र जनताको दीर्घकालीन हित सुनिश्चित गर्न नेकपाको नेतृत्व अपरिहार्य छ,” उनले भने, “जनताको साथ र विश्वासले नै परिवर्तन सम्भव हुन्छ।”
चुनावी अभियानका क्रममा विभिन्न गाउँ–टोलमा जनताको उल्लेखनीय सहभागिता देखिएको छ। नेकपाप्रति बढ्दो आकर्षणले रोल्पामा चुनावी परिणाम सकारात्मक रहने विश्वास पार्टीले व्यक्त गरेको छ।














Comments are closed