बारा । परवानीपुर गाउँपालिका-१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रम तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल रिटर्नी एशोसिएसनद्वारा सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) का केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले शैक्षिक सामग्री वितरणसँगै विद्यार्थीहरूलाई अनुशासन, सरसफाई, नियमित अध्ययन, घरायसी काममा सहयोग गर्ने बानी, फोहर उचित स्थानमा राख्ने, सानालाई माया र ठूलालाई सम्मान, नियम पालना गर्ने जस्ता मूल्य मान्यताले नै असल नागरिक निर्माण हुने उल्लेख गरे। उनले तयार पारेको १९ बुँदे प्रेरणादायी संदेश पनि विद्यार्थीहरूलाई लिखित रूपमा प्रदान गरिएको थियो।
सोही कार्यक्रममा नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) बारा अध्यक्ष तथा युवा नेता अनिल शाहले परवानीपुर–१ का विद्यार्थीहरूलाई आवश्यक परे थप सहयोग गर्न रिटर्नी एशोसिएसन सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे।
उनले आर्थिक रूपमा कमजोर तथा शिक्षाबाट वञ्चित विद्यार्थीहरूको पहिचान गरी पुनः सहयोगका कार्यक्रमहरू ल्याइने बताए। साथै शाहले सो क्षेत्रमा बेरोजगार युवाहरूलाई रोजगारी उपलब्ध गराइएको र स्थानीय महिलाहरूका लागि पनि रोजगारीका अवसर सृजना गर्दै आएको जानकारी गराएका थिए।
सहभागीहरूले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमहरूले स्थानीय विद्यार्थीको मनोबल र भविष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।













Comments are closed