काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अधिवेशनअन्तर्गत स्थानीय निर्वाचन प्रक्रिया जेठ ३० गतेदेखि सुरु हुने जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।
आयोगका अनुसार बागमती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक तयारी पूरा गरिएको छ। निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवार तथा प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
सूचनाअनुसार मतदान जेठ ३० गते सम्पन्न हुनेछ। मतदान बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने र मतदानको माध्यम विद्युतीय मतदान मेसिन (EVM) रहने जनाइएको छ। मतदान स्थल काठमाडौंको बुद्धनगरस्थित स्मार्ट दरबार तोकिएको छ।
निर्वाचन आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूलाई मतदान केन्द्रमा आउँदा परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ। निर्धारित समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न पनि आयोगले अनुरोध गरेको छ।
त्यसैगरी, विद्युतीय मतदान मेसिनको प्रयोग सम्बन्धी सामान्य जानकारी मतदान स्थलमा उपलब्ध गराइने र मतदान प्रक्रिया सहज बनाउन स्वयंसेवक तथा निर्वाचन अधिकारी परिचालन गरिने आयोगले जनाएको छ।
आयोगले निर्वाचन स्थलमा अनुशासन कायम राख्न, सुरक्षा मापदण्ड पालना गर्न तथा निर्वाचन कार्यतालिकाको पूर्ण रूपमा पालना गर्न सम्पूर्ण उम्मेदवार, प्रतिनिधि र सरोकारवालालाई अपिल गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भूपेन्द्र केसीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन प्रक्रिया सफल, पारदर्शी र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।















Comments are closed