रास्वपाले देशलाई निकास दिन सक्दैन, ठुलो दल भयो भने देश दुर्घटनामा जाने देखेँ
काठमाडौँ । केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरे र नेपाली कांग्रेसमा प्रवेश गरे । उनी मकवानपुर जिल्लाका संस्थापक सभापति थिए । गत ०७९ को चुनावमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनले १२ हजार ५९ मत ल्याएका थिए । यस चुनावमा पनि टिकटको अपेक्षा गरेका उनलाई रास्वपाले टिकट नदिएपछि असन्तुष्ट थिए । पराजुलीले रास्वपा ठुलो दल भयो भने देश दुर्घटनामा जाने बताएका छन् । उनले रास्वपामा बालेन शाहको प्रवेशपछि रास्वपा ध्वस्त भएको भन्दै अझै विष्फोटको अवस्था रहेको बताएका छन् । प्रस्तुत छ पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी –
रास्वपाको मकवानपुर जिल्ला सभापति जस्तो जिम्मेवार ठाउँमा हुनुहुन्थ्यो । चुनावको मुखमा रास्वपा छोड्नुको कारण के हो ?
पछिल्लो समयमा पुराना राजनीतिक दलहरुप्रति राजनीतिक विचलन आएकै हो । पुराना दलका अर्कमण्यताले निराश भएका जनताहरुले विकल्पको रुपमा रास्वपाको क्रेज बढेको थियो । तर मतदाताले सबै राजनीतिक कुरा बुझेको हुँदैनन् । मैले बुझ्दा, लहरले मात्रै एकचोटी चुनाव जित्ला तर राजनीतिलाई दुरगामी हिसाबले सोच्दा त रास्वपाबाट देशलाई निकास दिन सकिदैन । किनकी त्यहाँ राजनीति खालि गालि गरेर, अर्कोलाई बदनाम गरेर भोट बटुलेर देशले निकास पाउँदैन । जेनजीको बलिदानीपछि भएको अहिलेको चुनावमा रास्वपाको राजनीतिक दृष्टिकोण के हो त ? खालि अरुलाई गालि गर्ने मात्रै हो र ? हामी विदेशी हस्तक्षेप भयो भनेर अरुलाई विरोध गर्ने, कोही भारतिय दलाल भन्ने, कोही चीनको भन्ने । तर स्वयं रास्वपा को बाट सञ्चालित छ भन्नेकुरा मैले बुझेँ ।
सैद्धान्तिक, वैचारिक बाटो रास्वपाले लिन सकेन भन्नु खोज्नुभएको हो ?
हो । रास्वपासँग सैद्धान्तिक, वैचारिक बाटो छ्रैन । कांग्रेसमा बरु गगन थापा विश्वप्रकाश शर्मासहितको टिम आएपछि सुधारिएको कांग्रेसले देशको अभिभावकत्व राम्रो गर्छ । सुझबुझ भएको नेतृत्व कांग्रेसमा आएपछि मलाई यसप्रति विश्वास भयो र कांग्रेस फर्किए ।
रास्वपा कहाँबाट सञ्चलित छ बुझेँ भन्नुभयो । रास्वपा कहाँबाट परिचालित छ त ?
रास्वपा बाहिरबाटै सञ्चालित छ । नत्रभने प्रधानमन्त्री हुने बालेन शाहको दृष्टिकोण के हो त ? यो गर्छु, त्यो गर्छु, म प्रधानमन्त्री यसकारणले हुने भनेको खोई ? खालि जेनजीको हवला दिएर मात्रै चल्दैन देश । विभिन्न देशी, विदेशी शक्ति मिलाएर, आन्तरिक रुपमा पनि सबै पार्टीहरुलाई मिलाएर देश चलाउनुपर्ने अवस्था छ । उहाँको स्थिति, गतिविधि हेर्दा त त्यो स्वभाव छैन । रास्वपाले बहुमत ल्यायो अथवा ठुलो दल भयो भने देश दुर्घटनातिर जाने मैले देखेँ । देशले परिपक्व अभिभावक खोजेको छ ।
चुनावको टिकट नपाएर रास्वपा परित्याग गर्नुभयो भन्छन् नि ?
त्यो पनि स्वभाविक हो । सुरुमा रास्वपा नै नचिनिदाखेरी १४ हजार जनताले पत्याएको, पार्टी संगठन गरिरहेको मान्छेको मुल्यांकन छैन भने म सभापति भएर अरुलाई के न्याय दिन सक्छु र ? काम गर्ने मान्छेले टिकट पाउनु स्वभाविक हो । तर, त्यतिमात्रै होइन, नियत र प्रवृत्ति कस्तो हो भन्ने कुरा हेर्नु पर्ला नि । टिकट नदिएको कारण चाहिँ के हो नि ? चिन्दै नचिनेको, सडकमा भाइरल भएको मान्छे, केटाकेटी जस्तो मान्छेलाई टिकट दिनु राम्रो हो त ? हिजो लडेको, पार्टी स्थापित गरेको सभापतिले टिकट नपाउनु अन्यायपूर्ण होइन र ? टिकट खोज्नु मेरो अधिकार होइन र ?
रास्वपामा बालेन शाहको प्रवेशपछि झनै रास्वपा बलियो भएको भनिएको छ, तपाईले यस्तो बेलामा पार्टी छाड्नुभयो । घाटा तपाईलाई नै होला नि ।
बालेनको रास्वपा प्रवेश पछि पार्टी ध्वस्त भयो । बरु बालेन नमिसिँदा पार्टी आफ्नै लयमा थियो । राम्रो भइरहेको थियो । अहिले अनियन्त्रित भएको छ । रवि–बालेनले एक अर्कालाई विश्वास गरेको स्थिति छैन । दुईवटा समूह आपसमा अन्तघुलित भइसकेको छैन । भोलि यो विष्फोट हुनु नै छ । भोलि लथालिङ्ग हुनु छ, त्यसको भागिदार म किन हुनु ? रास्वपाको लहरको कुनै अर्थ छैन । काठमाडौँमा कुनै समय नानिमैया दाहालले पनि चुनाव जितेकै हो नि । माननीय भन्नै लाजमर्दो मान्छेलाई टिकट बाँडिएको छ । यस्ता उम्मेदवारले जितेर गएपनि संसदमा गर्नुपर्ने भुमिकामा के चाहिँ राम्रो हुन्छ र ? दलीय रुपमा पनि कुनै उद्देश्य र नीति, कार्यक्रम छैन । खालि अर्कालाई जेल हाल्ने भन्दा अरु कुनै कुरा नै सुन्न पाइदैनँ । भोलि संसद नाटक घर जस्तो हुने मैले देखेँ ।














Comments are closed