काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिनेछन्। त्यसैगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको उत्तर दिने सम्भावित कार्यक्रम रहेको छ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले गरेका पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज अपराह्न २ बजे बस्ने तय भएको छ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
विधेयकसम्बन्धी छलफलमा आवश्यक जानकारी र धारणा प्रस्तुत गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समितिको बैठकमा आमन्त्रित गरिएको संसद् सचिवालयले जनाएको छ।












Comments are closed