काठमाडौँ, फागुन २५ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिनुभएको छ ।
यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित हुनुभएका १८ मध्ये १७ जना सदस्यलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराउनुभयो।
नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिनुभयो ।
कार्यक्रममा सदस्य मीनासिंह रखाल भने आज अनुपस्थित हुनुहुन्थ्यो ।
१९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्। राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित भएका छन्।
कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।














Comments are closed