Shopping cart

  • Home
  • समाज
  • राष्ट्रसङ्घीय महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घीय महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने

Email :35

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्नुहुने भएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने महासभाको ‘उच्चस्तरीय सामान्य बहस’मा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस वर्षको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । महासभामा हालसम्म ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

महासभामा नेपालमा गत वर्ष भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन र त्यसबाट प्राप्त जनादेशअनुसार गठन भएको वर्तमान सरकारका प्राथमिकताका विषय अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने परराष्ट्र सचिव अमृतबहादुर राईले बताउनुभयो ।

महासभाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सचिव राईले अन्तरराष्ट्रिय सहयोग र सद्भावको निरन्तरता तथा विस्तारका लागि उच्चस्तरबाट आह्वान गर्ने अवसरका रूपमा पनि महासभालाई उपयोग गरिने बताउनुभयो ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले भोगिरहेको असरबारे महासभामा विश्व समुदायको ध्यानाकर्षण गराइने बताउनुभयो ।

“विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान रहे पनि यसका नकारात्मक असरबाट नेपालजस्ता मुलुक सर्वाधिक पीडित हुनुपरेको अवस्था छ”, सचिव राईले भन्नुभयो, “यस सन्दर्भमा प्रधानमन्त्रीज्यूबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्रकोपका कारण नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षतिबारे विश्वसमुदायको ध्यानाकर्षण गराइनेछ ।”

नेपालले जलवायु न्याय, हानि तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोषलगायतका माध्यमबाट उचित क्षतिपूर्ति प्राप्त गर्नुपर्ने विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ । साथै, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि प्रवर्द्धन तथा क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित मुलुकसँग अपिल गरिनेछ ।

नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि महासभामा जानकारी गराउनेछ ।

महासभाका अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रम आयोजना गर्नेछ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असर र त्यसबाट सिर्जित विपद्का विषयमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जि–७७ र चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुहुनेछ । उहाँले संयुक्त राष्ट्रसङ्घका उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई सम्बोधन गर्नुका साथै विभिन्न मित्रराष्ट्रका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुनेछ ।

Comments are closed

Related Post