Shopping cart

  • Home
  • समाज
  • रामेछाप र दोलखाको पर्यटन प्रवर्द्धनका लागि पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न
अर्थ

रामेछाप र दोलखाको पर्यटन प्रवर्द्धनका लागि पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न

Email :126

रामेछाप । नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछाप जिल्लाकको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रमा नयाँ पर्यटन पदमार्गको विस्तृत अध्ययन अनुसन्धान सम्पन्न भएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालित उक्त अध्ययन टोलीले दुवै जिल्लाका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाहरूको वस्तुस्थिति पहिचान गरेको छ।

पदमार्गको वस्तुस्थिति र अध्ययन
काठमाडौँबाट सुरु भएको अध्ययन टोलीले सिन्धुलीको कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिकाका विभिन्न वडा र दोलखाको शैलुङ गाउँपालिकाका पर्यटकीय क्षेत्रहरूको स्थलगत भ्रमण गरेको छ। सुनापति गाउँपालिकाका विभिन्न धार्मिक स्थलहरू, चिया बगान, लखपतिमाने डाँडा  लगायतका क्षेत्रहरूमा टोलीले सघन अध्ययन गरेको थियो।

यसैगरी, दोलखाको शैलुङ गाउँपालिका वडा नं १ स्थित हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र सानो शैलुङु र सिमानामा रहेको ठुलो शैलुङु को प्राकृतिक तथा पर्यटकीय सम्भावनाबारे टोलीले अध्ययन गरेको छ ।

पर्यटन पूर्वाधार र स्थानीयको उत्साह
अध्ययन टोलीलाई रामेछाप सुनापति गाउँपालिकाको लामागाउँमा स्थानीय संस्कृति झल्काउने धिमे बाजा, तामाङ जातिकाका  डम्फु नाच सहित झाँकी प्रस्तुतिका साथ भव्य स्वागत गरीएको थियो।
गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले पालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि विशेष पहल गरिरहेको जानकारी दिँदै यो अध्ययनले यस क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रविन रेग्मीले पर्यटन पूर्वाधार निर्माणसँगै वातावरण संरक्षण, ऐतिहासिक र धार्मिक सम्पदाहरूको जगेर्ना गर्नु आजको आवश्यकता रहेको औँल्याउनुभयो।  हामीले विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्छ, जसले गर्दा स्थानीयको जीवनस्तरमा समेत सुधार आउँछ, उहाँले भन्नुभयो।

बढ्दो पर्यटक आकर्षण
काठमाडौँको नजिकै रहेको र सहज पहुँचका कारण शैलुङ क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ। स्थानीय होटल व्यवसायी धावा लामाका अनुसार, हाल शैलुङ क्षेत्रमा मासिक तीनदेखि चार हजारसम्म पर्यटक आउने गरेका छन्। होमस्टे सेवा र स्थानीय आतिथ्यताले यस क्षेत्रको पर्यटनमा थप टेवा पुर्‍याएको व्यवसायीहरूको भनाइ छ।

टोलीमा को-को थिए ?
पर्यटन बोर्डका वरिष्ठ अधिकृतहरू गोपाल भण्डारी, प्रदीप गैरेर रविन रेग्मीसहित प्रेस संयोजक दिलिप कार्की, मिडियाकर्मी कुमार चौलागाईं, लेखनाथ सिकारु टानका प्रतिनिधि अमिर गुरुङ, विभिन्न सञ्चारकर्मी र फोटोग्राफरहरू सम्मिलित टोलीले ४ दिनसम्म स्थलगत अध्ययन गरेको थियो।

यस अध्ययनले रामेछाप र दोलखालाई जोड्ने नयाँ पर्यटकीय पदमार्गको विकासका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post