Shopping cart

  • Home
  • राजनिती
  • रङ्गहरूको पर्व होलीले सामाजिक एकता सुदृढ बनाउनेछ : वर्षमान पुन ‘अनन्त’
देश

रङ्गहरूको पर्व होलीले सामाजिक एकता सुदृढ बनाउनेछ : वर्षमान पुन ‘अनन्त’

Email :66

रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता  तथा रोल्पा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले फागु पूर्णिमा (होली) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

वसन्त ऋतुको आगमनसँगै उमङ्ग, उत्साह र आपसी सद्भावको सन्देश बोकेर आउने रङ्गहरूको यस पर्वले नेपाली समाजमा भाइचारा, सहिष्णुता र सामाजिक एकतालाई अझ सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको हो।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै नेता पुनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजलाई होलीका रङ्गहरूले एउटै सूत्रमा बाँध्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ, “होली केवल रङ्ग खेल्ने चाड मात्र होइन, यो असत्यमाथि सत्यको विजय, द्वेषमाथि सद्भावको स्थापना र आपसी मनमुटाव त्यागेर खुसी साटासाट गर्ने उत्सव पनि हो। यसले हाम्रो मौलिक परम्पराको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउने मेरो दृढ विश्वास छ।”

उहाँले होलीजस्ता सांस्कृतिक पर्वहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै सबैलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गर्नुभयो।

शुभकामना सन्देशकै क्रममा पूर्वमन्त्रीसमेत हरनुभएका पुनले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई विशेष महत्त्व दिनुभएको छ। मङ्गलबारदेखि निर्वाचनको ‘मौन अवधि’ सुरु हुन लागेको सन्दर्भमा उहाँले रोल्पाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो मताधिकार सुरक्षित र सुनिश्चित गर्न आग्रह गर्नुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन उहाँले सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई विशेष अपिल समेत गर्नुभएको छ।

उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको प्राण हो। मतदाताहरूले निर्धक्क र स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। त्यसैले शान्तिपूर्ण र मर्यादित ढङ्गले निर्वाचन सम्पन्न गराउन म सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु।”

हाल अन्तिम चुनावी तयारी तथा घरदैलो अभियानमा व्यस्त रहनुभएका नेता पुनले कार्यव्यस्तताका कारण सामाजिक सञ्जालमा पर्याप्त समय दिन नसकेकोमा क्षमायाचना समेत गर्नुभएको छ। उहाँका अनुसार अहिले रोल्पाका कुना–काप्चा, बस्ती र टोलहरूमा पुगेर जनताका समस्या सुन्ने, सुझाव संकलन गर्ने तथा आफ्नो विकास एजेन्डा प्रस्तुत गर्ने काम तीव्र रूपमा भइरहेको छ।

“म अहिले जनताकै घरआँगनमा छु। मतदाताहरूसँगको प्रत्यक्ष भेटघाट र घरदैलो अभियानमा निकै व्यस्त भएकाले सामाजिक सञ्जालमा धेरै कुरा राख्न पाइरहेको छैन, यसका लागि म क्षमाप्रार्थी छु,” उहाँले भन्नुभयो।

उहाँले होलीमा जस्तै विविध रङ्ग मिसिएर एउटै उल्लास सिर्जना हुने उदाहरण दिँदै विकास र समृद्धिका लागि सबै रोल्पाली एकताबद्ध हुनुपर्ने समय आएको उल्लेख गर्नुभयो। “जसरी हामी होलीमा विविध रङ्गहरू मिसाएर एउटै उत्साह बनाउँछौँ, त्यसरी नै विकास, सुशासन र समृद्धिका लागि सबै रोल्पाली एकजुट हुनुपर्छ,” उहाँले जोड दिनुभयो।

नेता पुनले निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक बहुमतले विजयी गराई रोल्पा र समग्र देशको विकासलाई नयाँ गति दिन आह्वान गर्नुभएको छ। उहाँका अनुसार आफ्नो उम्मेदवारी रोल्पाको पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुदृढीकरण र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धतासँग जोडिएको छ।

उहाँको सचिवालयका अनुसार नेता पुन हाल रोल्पाका दुर्गम बस्तीहरूमा पुगेर मतदातासँग शुभकामना आदान–प्रदान गर्दै चुनावी कार्यक्रमलाई तीव्रता दिइरहनुभएको छ। सचिवालयले दिएको जानकारीअनुसार जनतामा उत्साह उल्लेखनीय रूपमा उच्च रहेको छ र होलीको शुभकामनासँगै विकास र समृद्धिका विषयमा सार्थक छलफलहरू भइरहेका छन्।

अन्त्यमा, उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा होली मनाउन तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पुनः आग्रह गर्नुभएको छ।

Comments are closed

Related Post