Shopping cart

  • Home
  • राजनिती
  • यस्ता छन् झापा-२ लाई समुन्नत बनाउने धर्मशिला चापागाईंको संकल्पस् २० बुँदे प्रतिबद्धता सार्वजनिक
देश

यस्ता छन् झापा-२ लाई समुन्नत बनाउने धर्मशिला चापागाईंको संकल्पस् २० बुँदे प्रतिबद्धता सार्वजनिक

Email :47

झापा । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले समृद्ध, न्यायपूर्ण र समुन्नत झापा–२ निर्माणको स्पष्ट दृष्टिकोणसहित २० बुँदे विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । आइतबार बिर्तामोडस्थित चुनाव परिचालन समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, पर्यटन, कृषि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।

 

“झापा–२ लाई विकास, अवसर र समानताको नमुना निर्वाचन क्षेत्र बनाउने” लक्ष्यका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने विशेष योजना समेटिएको छ । यसका साथै विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्दै तिनलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

 

चापागाईंले औद्योगिक विकासलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि सार्दै चारपाने दक्षिण क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेकी छन् । परम्परागत उद्योगहरूको संरक्षण, आधुनिकीकरण र विस्तारमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । त्यस्तै, बिर्तामोडलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने दीर्घकालीन गुरुयोजना निर्माण गर्दै सडक, ढल, प्रकाश व्यवस्था, हरियाली र अन्य भौतिक पूर्वाधारलाई व्यवस्थित र आधुनिक बनाउने लक्ष्य अघि सारिएको छ ।

 

उनको प्रतिबद्धता पत्रमा समाजका ज्वलन्त समस्याहरू समाधान गर्ने स्पष्ट योजना पनि समेटिएको छ । मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने, समाजबाट बहिष्कृत र उपेक्षित व्यक्तिहरूको पुनर्स्थापना गर्ने, स्वच्छ खानेपानी र सिँचाइको दिगो व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले जनाएकी छन् ।

 

शिक्षा क्षेत्रमा प्राविधिक, रोजगारमुखी र प्रविधिमैत्री शिक्षा प्रणालीको विकासलाई प्राथमिकता दिँदै प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने ‘एक वडा, एक पुस्तकालय’ अभियानलाई रचनात्मक कार्यक्रमका रूपमा अघि सारिएको छ । यसले ज्ञान, सूचना र अध्ययन संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरिन् ।

 

युवाहरूको नेतृत्व विकास, खेलकुद पूर्वाधार विस्तार, महिला, दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक उत्थानलाई प्रतिबद्धता पत्रको प्रमुख आधार बनाइएको छ । आदिवासी जनजातिका मौलिक कला, भाषा, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उनले विविधताको सम्मानसहित समावेशी समाज निर्माणमा जोड दिएकी छन् ।

 

कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउने लक्ष्यसहित स्थानीय कृषकहरूका लागि मल, बीउबिजन र प्राविधिक सहयोगको सहज व्यवस्था गर्ने, पशुपालन र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने तथा कृषि आधारित उद्योगको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् ।

त्यसैगरी, वातावरण संरक्षणलाई विकासको अभिन्न अंगका रूपमा अघि सार्दै वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने, हरियाली विस्तार गर्ने र दीगो विकासका सिद्धान्तअनुसार योजना कार्यान्वयन गर्ने योजना उनले सार्वजनिक गरिन् । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै जनताको विश्वासलाई मजबुत बनाउने प्रतिवद्धता पनि उनले दोहोर्‍याइन् । सूचना प्रविधिको विकास, सञ्चार माध्यमको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच विस्तारमार्फत आधुनिक र प्रविधिमैत्री समाज निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चापागाईंले नेपालको संविधान २०७२ जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन, आवश्यक संशोधन र लक्षित वर्गलाई थप अधिकार प्रत्यायोजन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको अधिकार, सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् ।

विगतमा विभिन्न जिम्मेवारीमा रहँदा पनि सादगी जीवनशैली अपनाउँदै जनताको सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले विकासका अवरोधका रूपमा रहेको भ्रष्टाचार अन्त्य गर्ने दृढ अठोट व्यक्त गरिन् । आफूले यस क्षेत्रको विकासका लागि अघिल्लो कार्यकालमा सुरु गरेका महत्वपूर्ण योजनाहरूलाई पूर्णता दिन पुनः जनताको साथ र विश्वास आवश्यक रहेको उनले बताइन् ।

चापागाईंले आफ्नो प्रतिबद्धता पत्र केवल कागजी दस्तावेज नभई जनताको जीवनस्तर सुधार्ने व्यवहारिक मार्गचित्र भएको उल्लेख गर्दै झापा–२ लाई समृद्ध, आधुनिक, न्यायपूर्ण र अवसरयुक्त क्षेत्र बनाउने अभियानमा साथ दिन सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन् ।

Comments are closed

Related Post