Shopping cart

  • Home
  • शिक्षा
  • मेरो उम्मेदवारी गणतन्त्रको उपलब्धिलाई व्यवहारमा उतार्दै जनताको घरदैलोसम्म पुर्‍याउनका लागि हो: रन्जित तामाङ
देश

मेरो उम्मेदवारी गणतन्त्रको उपलब्धिलाई व्यवहारमा उतार्दै जनताको घरदैलोसम्म पुर्‍याउनका लागि हो: रन्जित तामाङ

Email :106

झापा। झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रन्जित तामाङले आफ्नो उम्मेदवारी गणतन्त्रको उपलब्धिलाई व्यवहारमा उतार्दै जनताको घरदैलोसम्म पुर्‍याउने स्पष्ट प्रतिबद्धतासहित अघि सारेका छन्।

कमल गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले संविधान उत्कृष्ट दस्तावेज भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी हुँदा युवापुस्तामा असन्तुष्टि बढेको बताए।

तामाङले भने, “नेपाली जनताको ठूलाे बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई कागजमा सीमित राख्नु हुँदैन। यसको मर्मअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।”

उनले आफ्नो उम्मेदवारी परिवर्तनको नाराभन्दा पनि कार्यान्वयनको एजेन्डामा केन्द्रित रहेको उल्लेख गरे। विशेषगरी युवाका लागि रोजगारी सृजना, गुणस्तरीय शिक्षा पहुँच विस्तार, सर्वसुलभ स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आफू प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नेकपा झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले संविधानको सही कार्यान्वयन र संघीय गणतन्त्रको संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीति र दृढ नेतृत्व आवश्यक रहेको धारणा राखे। “जसको नीति, उसकै नेतृत्व” हुनुपर्ने भन्दै उनले गणतन्त्रको रक्षा र विकासका लागि नेकपाको नेतृत्व अपरिहार्य रहेको बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बीरेन्द्र बस्नेत, दिपेनवाला राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उम्मेदवार तामाङले जनतासँग प्रत्यक्ष संवादमार्फत आफ्ना प्रतिबद्धता राख्दै गणतन्त्रको उज्यालोलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्।

Comments are closed

Related Post