Shopping cart

  • Home
  • समाज
  • माेरङ बेलबारी-७ का ५३ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
देश

माेरङ बेलबारी-७ का ५३ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

Email :24

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बेलबारी नगरपालिका–७ का ५३ जना युवाहरू नेपाली कम्युनिष्ट पार्टी  (नेकपा) मा प्रवेश गरेका छन् । स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन गतिविधि तीव्र भइरहेका बेला युवाहरूको सामूहिक प्रवेशले क्षेत्रको चुनावी माहोल थप तातेको छ ।

माेरङ-४ का प्रतिनिधिसभा सदस्य पदका नेकपाका उम्मेदवार अमनलाल मोदीले आयोजित कार्यक्रममार्फत ती युवाहरूलाई टीका–माला लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । बेलबारी–७ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाहरूको सक्रिय सहभागिताले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे । “देशको रूपान्तरण र समाजवादी लक्ष्य प्राप्तिका लागि युवाशक्ति अपरिहार्य छ,” उनले भने, “युवाहरूको भरोसा र साथले मोरङ–४ मा नयाँ राजनीतिक सन्देश प्रवाह हुनेछ।”

 

उक्त कार्यक्रममा मुन्ना राजवंशीको नेतृत्वमा युवाहरूको ठूलो समूह पार्टी प्रवेश गरेको निर्वाचन परिचालन समितिका इन्चार्ज रुपेश खतिवडाले जानकारी दिए । उनका अनुसार प्रवेश गर्ने युवाहरू यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न दलमा क्रियाशील थिए । “विकास, पारदर्शिता र वैकल्पिक राजनीतिक दिशाको खोजीमा रहेका युवाहरूले वर्तमान परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टी नै उपयुक्त शक्ति ठानेर प्रवेश गरेका हुन्,” खतिवडाले दाबी गरे ।

 

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूका तर्फबाट प्रतिनिधिहरूले राजनीतिक स्थिरता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा राख्दै आफूहरू परिवर्तनको अभियानमा सहभागी भएको बताएका थिए । उनीहरूले स्थानीय स्तरमा देखिएका बेरोजगारी, पूर्वाधार अभाव र युवामैत्री कार्यक्रमको कमी जस्ता समस्यालाई समाधान गर्न सशक्त राजनीतिक विकल्प आवश्यक रहेको धारणा व्यक्त गरे ।

 

भेलामा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो । नेताहरूले संगठन विस्तार अभियानलाई तीव्र पारिएको उल्लेख गर्दै आगामी निर्वाचनमा मोरङ–४ बाट विजयी हुने लक्ष्यसहित घरदैलो, टोलभेला र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।

 

बेलबारी–७ मा भएको सामूहिक पार्टी प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूबीच कार्यकर्ता तानातान बढिरहेको अवस्थामा युवाहरूको यो कदमले क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

पार्टीले आगामी दिनमा युवालाई नेतृत्व विकास, वैचारिक प्रशिक्षण र सामाजिक अभियानमा सक्रिय सहभागिताका लागि विशेष कार्यक्रम ल्याउने घोषणा समेत गरेको छ । स्थानीय स्तरमा संगठन विस्तारसँगै युवामुखी कार्यक्रम अघि सार्दै चुनावी अभियानलाई अझ प्रभावकारी बनाइने नेताहरूले बताएका छन् ।

Comments are closed

Related Post