Shopping cart

  • Home
  • समाज
  • मानव अधिकार र सामाजिक न्यायको अभियानमा प्रकाशको योगदान अविस्मरणीय’
देश

मानव अधिकार र सामाजिक न्यायको अभियानमा प्रकाशको योगदान अविस्मरणीय’

Email :115

पोखरा । मानवअधिकार संरक्षण मञ्च (मासम) नेपालले तत्कालीन महासचिव तथा मानवअधिकार अभियन्ता स्वर्गीय प्रकाश स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मानव अधिकार, सामाजिक न्याय र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान सदैव प्रेरणादायी रहने जनाएको छ।

शनिबार प्रकाश स्मृति दिवसका अवसरमा मञ्चका महासचिव डा. श्रीकान्त खनिवडाद्वारा जारी विज्ञप्तिमा २०७१ साल साउन १६ गते मानव अधिकारका पक्षमा अभियान सञ्चालन गर्ने क्रममा भएको सवारी दुर्घटनामा परी प्रकाशको निधन भएको स्मरण गरिएको छ।

विज्ञप्तिअनुसार प्रकाश मानवअधिकार संरक्षण मञ्च नेपालका संस्थापक सदस्य तथा मानव अधिकारका क्षेत्रमा समर्पित अभियन्ता थिए। उनले मानव अधिकार तथा सामाजिक न्यायका पक्षमा उल्लेखनीय भूमिका निर्वाह गर्दै संगठनलाई राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

मञ्चले प्रकाशले आफ्नो जीवनकालभरि समाजका उत्पीडित, सीमान्तकृत र अधिकारबाट वञ्चित समुदायको हकहितका लागि निरन्तर संघर्ष गरेको उल्लेख गरेको छ। मानव अधिकार, सामाजिक उत्थान, पर्यावरण संरक्षण, लैङ्गिक समानता तथा नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न उनले खेलेको भूमिका अनुकरणीय रहेको विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी, मानव अधिकार संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा प्रकाशको योगदानलाई स्मरण गर्दै मञ्चले उनका अधुरा सपना पूरा गर्न मानव अधिकार र सामाजिक न्यायको अभियानलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

विज्ञप्तिमा स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, मानव अधिकारको संरक्षण र सामाजिक न्यायको स्थापनाका लागि प्रकाशले देखाएको मार्गलाई आत्मसात् गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्‍याइएको छ।

Comments are closed

Related Post