काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुर्याएको बताएका छन् ।
जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन् ।
विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीले प्रतिपादन गरेको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ । यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र सङ्गठन निर्माणमा खेलेको भूमिकालाई पनि उनले विशेष स्मरण गरेका छन्।















Comments are closed