Shopping cart

  • Home
  • समाज
  • मतदाताले पटक पटक पत्याएका नेकपा काठमाडौं-७ का उम्मेदवार मानन्धर भन्छन् ‘इमानदारिता नै मेरो मत माग्ने पहिलो आधार हो’
देश

मतदाताले पटक पटक पत्याएका नेकपा काठमाडौं-७ का उम्मेदवार मानन्धर भन्छन् ‘इमानदारिता नै मेरो मत माग्ने पहिलो आधार हो’

Email :126

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौं-७ का उम्मेदवार तथा पूर्वमन्त्री वसन्त मानन्धरले आफ्नो इमानदारिता र विगतको कार्यअनुभवलाई मत माग्ने मुख्य आधार बनाएका छन्। यसअघि यही क्षेत्रबाट दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्रिको जिम्मेवारी समेत सम्हालिसकेका मानन्धरले जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै अब प्रतिनिधिसभामा पुगेर अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

उनले प्रदेश तहमा बजेट सीमित हुँदा चाहेर पनि धेरै काम गर्न नसकिएको स्वीकार्दै अब केन्द्रीय तहमा पुगेर कानुन निर्माणमार्फत क्षेत्रका आवश्यकता सम्बोधन गर्ने बताएका छन्। “जनताले दुइपटक पत्याएर जिताउनुभयो, सकेसम्म काम गरेँ, अब अझै ठूलो जिम्मेवारीका लागि तयार छु,” उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत मतदातालाई सम्बोधन गर्दै उनले घरदैलो कार्यक्रममार्फत प्रत्यक्ष भेटघाट गर्ने र क्षेत्रका समस्या तथा अपेक्षाबारे सुझाव संकलन गर्ने बताएका छन्। प्रभावकारी कानुन निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउने उनको भनाइ छ।

उनले आफ्नो व्यक्तिगत सम्पर्क नम्बर ९८४१५२८५१९/ ९८५१२०८५१९ सार्वजनिक गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा सुझाव दिन आग्रह गरेका छन्। प्राप्त सुझावले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्। उनले लेखेका छन् ‘ मैले बागमती प्रदेशसभाको सदस्यको हैसियतमा हजुरहरूले सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने निरन्तर प्रयास गर्दै आएको थिएँ । यस अवधिमा प्रदेश तहबाट सम्भव भएका नीति, कार्यक्रम तथा जनसरोकारका विषयहरूमा आवाज उठाउन र कार्य गर्न पाएकोमा म गर्व महसुश गर्दछु ।’ उनले जेनजी आन्दोलनको बारेमा यसो भनेका छन् ‘ राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ र अहंकारले जनतामा बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकेन, सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजी पुस्ताले उठाएको आवाजलाई शासकले सुन्न सकेन, उल्टै दमनको नीति अपनाइयो ।’

 

मानन्धरले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ तथा अहंकारका कारण जनतामा असन्तुष्टि बढेको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्दै उठेको जेनजी पुस्ताको आवाजलाई समयमै सम्बोधन गर्न नसक्दा अवस्था जटिल बनेको उनको भनाइ छ।

उनले प्रतिनिधिसभामा पुगेपछि जनताको आवाज सशक्त रूपमा उठाउने, जनजीविकाका सवाललाई नीति निर्माणको केन्द्रमा राख्ने, संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउने कानुन तर्जुमा गर्ने र प्रदेश–स्थानीय तहबीच सन्तुलन कायम गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले दलगत बैरभाव कतै नराखी पारदर्शी र जवाफदेहीतासहित काम गर्ने पनि जनाएका छन् । उनले आगामी दिनमा पनि जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सामाजिक न्याय र समृद्धिको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, महँगी र बेरोजगारी नियन्त्रणका लागि बनेका नीतिहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने, सामाजिक न्याय र सन्तुलित विकासका पक्षमा उभिने तथा कुशासन र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने उनको घोषणा छ। मानन्धर बागमती प्रदेशसभाको सदस्यका रूपमा काम गरिसकेका छन् र वाग्मती प्रदेश सभामाबाट सम्भव भएका नीति तथा कार्यक्रममार्फत जनसरोकारका विषय उठाएकोमा आफूलाई गर्व लागेको उनले बताएका छन्।

काठमाडौं-७ मा काठमाडौं महानगरपालिकाका म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका वडा नम्बर १, २ र ३ सँगै तारकेश्वर नगरपालिकाका वडा नम्बर ३, ४ र ५ पर्दछन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरेका छन्। “गणतन्त्रको रक्षा, संसदभित्रको अराजकताको अन्त्य र भ्रष्टाचारविरुद्ध सशक्त आवाजका लागि तारा चिन्हमा मतदान गर्नुहोस्,” उनले अपिल गरेका छन्।

Comments are closed

Related Post