काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पत्रकार तथा पत्रकारका परिवारका सदस्यहरू सम्पर्कविहीन भएको भन्दै नेपाल पत्रकार महासंघले तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
महासंघका अनुसार समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएका थिए। उनी अहिले सम्पर्कमा आएका छन् भन्ने समाचारहरु सार्वजनिक भएका छन् । तर, नेपाल पत्रकार महासँघबाट कुनै सुचना आएको छैन । परिवारबाट प्राप्त सूचनाअनुसार उनी बाढी आएपछि सम्पर्कमा आएका छैनन्।
त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–७ का पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि सम्पर्कविहीन भएको महासंघले जनाएको छ। पौडेलका बुवा, आमा, काका, काकी र बहिनीसँग सम्पर्क हुन नसकेको जानकारी महासंघलाई प्राप्त भएको हो।
महासंघले विपद्को अवस्थालाई गम्भीरतापूर्वक लिँदै सम्पर्कविहीन पत्रकार तथा उनीहरूका परिवारका सदस्यको खोजी कार्य तत्काल प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको भन्दै महासंघले सञ्चार सेवा नियमित सञ्चालनका लागि आवश्यक वैकल्पिक व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
महासंघले विपद्को समयमा सञ्चारमाध्यम सञ्चालनका लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग अपिल गरेको छ। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ र उद्धार तथा खोजी कार्य जारी छ।














Comments are closed