Shopping cart

  • Home
  • स्वास्थ्य
  • भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा जुट्न राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालको अपिल
अर्थ

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा जुट्न राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालको अपिल

Email :93

काठमाडौं । भोटेकोशी नदीमा आएको अप्रत्याशित ठूलो बाढीबाट रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल, नेपाल (DiMaNN) ले गहिरो दुःख व्यक्त गरेको छ।

सञ्जालले बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी रूपमा जुट्न अपिल गरेको हो।

DiMaNN का अध्यक्ष सूर्यबहादुर थापा र महासचिव विष्णु प्रसाद तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघ–संस्था, अन्तर्राष्ट्रिय संघ-संस्था तथा दातृ निकायलगायत सबैको एकीकृत सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ।

सञ्जालले बाढी प्रभावितहरूको तत्काल उद्धार, घाइतेको निःशुल्क प्रभावकारी उपचार, बेपत्ताको शीघ्र खोजी तथा सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेको छ। साथै पर्याप्त राहत सामग्रीको व्यवस्थापन, विपद्मा परेका परिवार तथा समुदायलाई मनोसामाजिक परामर्श, संकटमा रहेका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सुत्केरी, गर्भवती, बालबालिका र महिलालगायत जोखिममा रहेका समूहका लागि विशेष राहत सामग्री उपलब्ध गराउन पनि सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनासँगै भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, विपद्को समयमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सत्यतथ्यविहीन, भ्रमपूर्ण तथा अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न DiMaNN ले आग्रह गरेको छ। प्रभावित क्षेत्रमा अनावश्यक वस्तु तथा सेवाको कालोबजारी, कृत्रिम अभाव र कृत्रिम मूल्यवृद्धि सिर्जना नगर्नसमेत सम्बन्धित पक्षलाई सचेत गराइएको छ।

सञ्जालले मानवीय संवेदनशीलताको अवस्थामा पीडितको समस्यालाई थप जटिल बनाउने गतिविधि नगर्न र यस्ता कार्यलाई तत्काल नियन्त्रण गरी विपद् सुशासन कायम गर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्ने अवस्थामा DiMaNN को अपिलले सरकार तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र मानवीय सहयोगको आवश्यकता औंल्याएको छ।

Comments are closed

Related Post