Shopping cart

  • Home
  • स्वास्थ्य
  • भोटेकोशीको बाढी-‘हिमाली सुनामी’ कि विज्ञानको चेतावनी ?
अन्तर्राष्ट्रिय

भोटेकोशीको बाढी-‘हिमाली सुनामी’ कि विज्ञानको चेतावनी ?

Email :135

लेखनाथ सिकारू

नदीलाई माता भनेर पूजा गर्ने हामीले नदीकै छातीमा डोजर चलायौँ, अनि बाढी आउँदा दोष नदीलाई दियौँ ।

भोटेकोशी उर्लियो। बस्तीहरू हल्लिए। सडकहरू भत्किए। पुलहरू बगे। मानिसहरू बेपत्ता भए।
कसैका घर रहेनन्, कसैका आफन्त रहेनन्, कसैका वर्षौँका सपना रहेनन्। ‘हिमाली सुनामी’ र त्यसले निम्त्याएको विनाशले नेपाललाई फेरि एउटा कठोर प्रश्नको अगाडि उभ्याएको छ-प्रकृतिले हामीलाई चेतावनी दिइरहेको हो कि हामी अझै पनि चेतावनी सुन्न तयार छैनौँ ? यही घटनाको बीचमा एउटा पुरानो शास्त्रीय मान्यता सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा आएको छ। ब्रह्मवैवर्त पुराणमा कलियुगका पाँच हजार वर्षपछि पवित्र नदीहरू पृथ्वीमा रहेको आफ्नो नदीरूपबाट मुक्त भएर पुनः धाम फर्किने उल्लेख भएको श्लोक उद्धृत गरिएको छ।

“कलेः पञ्चसहस्रे च गते वर्षे च मोक्षणम् ।
युष्माकं सरितां भूयो मद्गृहे चागमिष्यथ ॥”

परम्परागत हिन्दू गणनाअनुसार कलियुगको सुरुआत ईसापूर्व ३१०२ बाट भएको मानिन्छ। त्यस हिसाबले पाँच हजार वर्षको अवधि पार भइसकेको छ। अर्कोतर्फ चाणक्यनीतिमा पनि कलियुगको पाँच हजार वर्षपछि जाह्नवी अर्थात् गंगाको जलले पृथ्वी त्याग्ने परम्परागत व्याख्या पाइन्छ। अब प्रश्न उठ्छ- के भोटेकोशीको बाढीलाई यी शास्त्रीय कथनसँग जोडेर हेर्न मिल्छ ?

वैज्ञानिक रूपमा यसको उत्तर सरल छ-शास्त्रीय श्लोकलाई बाढीको कारण वा भविष्यवाणीको प्रमाण मान्न सकिँदैन। तर दार्शनिक र सभ्यतागत रूपमा भने यो प्रश्न अत्यन्त गम्भीर छ। किनकि शास्त्रले नदीलाई केवल पानीको धार मानेन। उसले नदीलाई जीवन मान्यो। माता मान्यो। देवी मान्यो। सभ्यताको आधार मान्यो। विज्ञानले पनि आज त्यही नदीलाई अर्को भाषामा बुझाउँछ-जलचक्र, जलाधार, भूगोल, पारिस्थितिक प्रणाली, हिमनदी, वर्षा, बहाव र जोखिम।

भाषा फरक छ। चिन्ता एउटै छ। प्रकृतिलाई अपमान गरेर मानव सभ्यता सुरक्षित रहन सक्दैन। नदी रिसाएको होइन, हामी अन्धा भएका हौँ हाम्रो समस्या यहीँबाट सुरु हुन्छ। बाढी आयो भने हामी भन्छौँ- दैवी प्रकोप।

पहिरो गयो भने प्रकृतिको विपत्ति। हिमताल फुट्यो भने- भगवानको इच्छा। तर सडक कहाँ बनायौँ ? घर कहाँ बनायौँ ?  बस्ती कहाँ बसायौँ ? नदीको बहाव कहाँ छेक्यौँ ? बगर कहाँ कब्जा गर्‍यौँ ? वन कहाँ काट्यौँ ? पहाडको छाती कहाँ चिर्यो ? यी प्रश्नको उत्तर खोज्न भने हामी तयार हुँदैनौँ। हामी नदीलाई माता भन्छौँ तर नदीको प्राकृतिक क्षेत्रमाथि अतिक्रमण गर्छौँ। नदीको पूजा गर्छौँ तर नदीमै फोहोर फाल्छौँ। गंगालाई पवित्र भन्छौँ तर त्यहि पानीमा ढल मिसाउँछौँ। भोटेकोशी सहित कोशिहरुलाई जीवनदायिनी भन्छौँ तर नदीको स्वभाव, बहाव र जोखिमलाई बेवास्ता गरेर पूर्वाधार बनाउँछौँ। अनि एक दिन नदी आफ्नो स्वाभाविक शक्तिमा फर्किन्छ। त्यसपछि हामी चिच्याउँछौँ- “नदीले सबै बर्बाद गर्‍यो।” होइन। नदीले आफ्नो काम गर्‍यो। हामीले आफ्नो विवेक गुमायौँ।

भोटेकोशीको भूगोल सामान्य छैन। यो हिमाली नदी हो। यसको जलाधार उच्च हिमाली क्षेत्रसँग जोडिएको छ। हिमनदी, हिमताल, पहिरो, अत्यधिक वर्षा, चट्टानी भूभाग र तीव्र ढलान-यी सबैले यहाँको नदी प्रणालीलाई संवेदनशील बनाउँछन्। यस्तो क्षेत्रमा नदीलाई सामान्य खोलाजस्तो ठानेर विकासको नक्सा बनाउनु आफैँमा जोखिम निम्त्याउनु हो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिमको प्रकृति थप जटिल बनाइरहेको वैज्ञानिक अध्ययनहरूले देखाइरहेका छन्। अत्यधिक वर्षाका घटना, हिमनदीको पग्लिने दर, हिमतालको विस्तार, पहिरो र आकस्मिक बाढीका जोखिमलाई अब सामान्य मौसमी घटनाका रूपमा मात्र बुझ्न सकिँदैन।

हाम्रो विकासको शैली भने अझै पुरानै छ। पहिले सडक खनिन्छ। पछि जोखिमको अध्ययन गरिन्छ। पहिले घर बनाइन्छ। पछि नदीको सीमा खोजिन्छ। पहिले पुल बनाइन्छ। पछि खोलाको पुरानो बहाव सम्झिन्छौँ। पहिले आयोजना आउँछ। पछि वातावरणीय प्रभावको कागज तयार हुन्छ। यो विकास होइन। यो विपत्तिलाई किस्ताबन्दीमा निम्तो हो।

हामीले शास्त्रलाई वैज्ञानिक अनुसन्धानको किताब बनाउनु आवश्यक छैन। तर शास्त्रका प्रतीकभित्र लुकेको सामाजिक चेतना बुझ्नु आवश्यक छ। हाम्रा पूर्वजहरूले नदीलाई देवी बनाए। किन ? किनकि उनीहरूलाई थाहा थियो- नदी बिना जीवन सम्भव छैन। नदीले पानी दिन्छ। खाना दिन्छ। खेती दिन्छ। ऊर्जा दिन्छ। सभ्यता निर्माण गर्छ। मानव बस्ती जन्माउँछ। त्यसैले नदीलाई अपमान गर्न नहुने सांस्कृतिक अनुशासन निर्माण गरियो।
नदी माता हो। यस वाक्यमा आधुनिक वातावरणीय विज्ञानभन्दा कम चेतना थिएन। तर विडम्बना हामीले “माता” शब्द त जोगायौँ, माताप्रतिको व्यवहार जोगाएनौँ। नदीलाई देवता बनायौँ, नदीको बगर बेच्यौँ। नदीलाई पवित्र भन्यौँ, नदीको पेट खन्यौँ। नदीलाई जीवन भन्यौँ, नदीकै किनारमा जीवन जोखिममा राख्यौँ। त्यसैले समस्या शास्त्रमा छैन। समस्या शास्त्र पढ्ने तर त्यसको नैतिक चेतना नबुझ्ने हाम्रो प्रवृत्तिमा छ।
“पाँच हजार वर्षपछि नदी फर्किन्छ”: यसको अर्थ के ? यहीँ एउटा महत्वपूर्ण सावधानी आवश्यक छ। कलियुगको पाँच हजार वर्ष पूरा भयो भन्दैमा अब पृथ्वीका नदीहरू भौतिक रूपमा पृथ्वीबाट गायब हुन्छन् भन्ने निष्कर्ष निकाल्नु वैज्ञानिक होइन। नदीको अस्तित्व जलचक्र, वर्षा, हिमनदी, भूमिगत पानी, भूगोल र मौसम प्रणालीसँग सम्बन्धित हुन्छ। नदीको “धाम फर्किनु” भन्ने कुरा धार्मिक भाषामा बुझिनुपर्ने आध्यात्मिक अवधारणा हो। तर त्यसलाई आधुनिक सन्दर्भमा प्रतीकका रूपमा पढ्दा एउटा डरलाग्दो प्रश्न उठ्छ- यदि हामीले नदीको स्रोत, जलाधार, वन, हिमनदी र प्राकृतिक बहाव नष्ट गर्दै गयौँ भने के हाम्रो पुस्ताले नदीलाई साँच्चिकै गुमाउने छैन ? सायद शास्त्रले पाँच हजार वर्षको गणना गरेको होला। विज्ञानले भने अर्को घडी देखाइरहेको छ। त्यो घडीको नाम हो- जलवायु संकट।

हिमालयलाई विश्वका प्रमुख जलस्रोत क्षेत्रमध्ये एक मानिन्छ। तर तापक्रम वृद्धि, हिमनदीमा परिवर्तन र चरम मौसमी घटनाले हिमाली जलप्रणालीमा नयाँ जोखिम सिर्जना गरिरहेका छन्। नेपालका हिमाली नदीहरूमा जोखिम केवल बाढीको मात्र छैन। हिमताल विस्फोट हुन सक्छ। पहिरोले नदी थुन्न सक्छ। थुनिएको नदी अचानक फुट्न सक्छ। अत्यधिक वर्षाले केही घण्टामै बहाव बढाउन सक्छ। चट्टानी भूभागले बहावको विनाशकारी शक्ति बढाउन सक्छ। त्यसैले भोटेकोशीको प्रश्न केवल एउटा नदीको प्रश्न होइन। यो हिमालयको भविष्यको प्रश्न हो। आज भोटेकोशी हो। भोलि अर्को नदी हुन सक्छ। आज एउटा बस्ती हो। भोलि अर्को बस्ती हुन सक्छ। यदि हामीले जोखिमलाई भूगोलअनुसार व्यवस्थापन गरेनौँ भने विपत्ति कुनै पार्टीको घोषणापत्र हेरेर आउने छैन। कुनै सरकारको कार्यकाल कुर्ने छैन। कुनै नेताको भाषण सुन्ने छैन।

विपत्ति आएपछि हेलिकोप्टर उडाउने, राहत घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र सामाजिक सञ्जालमा समवेदना लेख्ने काम आवश्यक छ। तर यतिले मात्र राज्यको दायित्व पूरा हुँदैन। विपत्तिपछिको राहतभन्दा विपत्तिअघिको तयारी ठूलो राज्यकला हो। हामीसँग मौसम पूर्वानुमान छ। बैज्ञानिक प्रविधि छ। जलमापन केन्द्र छन्। भूगर्भीय अध्ययन छन्। जोखिम नक्सा बनाउन सकिन्छ। प्रारम्भिक चेतावनी प्रणाली विकास गर्न सकिन्छ। सुरक्षित बस्ती स्थानान्तरण गर्न सकिन्छ। नदी किनारमा निर्माण नियन्त्रण गर्न सकिन्छ।
तर प्रश्न हो- हामी गर्छौँ कि विपत्ति आएपछि मात्र गर्छौँ ? नेपालमा विपद् व्यवस्थापन अझै धेरै हदसम्म तिक्रियात्मक छ। पहिले विपत्ति आउँछ। पछि सरकार जाग्छ। पहिले मानिस हराउँछन्। पछि खोजी सुरु हुन्छ। पहिले पुल बग्छ। पछि पुल किन बग्यो भन्ने अध्ययन हुन्छ। यो उल्टो व्यवस्था हो। राज्यले भविष्यको विपत्ति अनुमान गरेर आजै निर्णय गर्नुपर्छ। हामीले विकासलाई कंक्रिटसँग जोड्यौँ। जति धेरै सडक, त्यति धेरै विकास। जति धेरै पुल, त्यति धेरै विकास।
जति धेरै भवन, त्यति धेरै विकास। तर प्रकृतिको गणित फरक हुन्छ। हरेक सडक विकास हुँदैन। हरेक पुल सुरक्षा हुँदैन। हरेक तटबन्ध समाधान हुँदैन। कहिलेकाहीँ गलत ठाउँमा बनाइएको विकास नै विपत्तिको कारण बन्न सक्छ। नदीलाई उसको प्राकृतिक बहाव क्षेत्र चाहिन्छ। बगर केवल खाली जमिन होइन। बगर नदीको आपत्कालीन क्षेत्र हो। बाढी आएको बेला नदी फैलिन्छ। हामीले त्यो ठाउँलाई “खाली” देखेर घर बनायौँ भने गल्ती नदीको होइन। त्यसैले अब विकासको परिभाषा बदल्नुपर्छ। नदीसँग लडेर होइन, नदीलाई बुझेर विकास गर्नुपर्छ।

धार्मिक भाषामा हामी भन्छौँ- नदी रिसायो। नदीले बदला लियो। तर विज्ञान भन्छ- नदीले बदला लिँदैन।
नदीलाई भावना हुँदैन। उसले आफ्नो भौतिक नियमअनुसार बग्छ। तर मानिसले नदीको नियम नबुझ्दा त्यसको परिणाम विनाशकारी देखिन्छ। नदीको बहाव बढ्छ। गुरुत्वले पानी तलतिर लैजान्छ। किनार कटान हुन्छ। कमजोर भूभाग भत्किन्छ। पहिरो आउँछ। थुनिएको पानी अचानक छुट्छ। अनि हामी त्यसलाई “क्रोध” भन्छौँ।
सायद त्यो हाम्रो भाषाको कमजोरी हो। प्रकृतिको क्रोधभन्दा खतरनाक कुरा मानिसको अज्ञानता हो।
“नदी माता” भन्नुको अर्थ व्यवहारमा देखाउनुपर्छ यदि नदी माता हो भने- उसको बाटो नछेकौँ। उसको पेट नखोतलौँ। उसको किनार अतिक्रमण नगरौँ। उसको पानी विषाक्त नबनाऔँ। उसको जलाधार नष्ट नगरौँ।
हिमालको संवेदनशील भूगोलमा जथाभावी निर्माण नगरौँ। जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सारौँ।
वैज्ञानिक चेतावनीलाई राजनीतिक स्वार्थभन्दा माथि राखौँ। यति गर्न सके मात्र हाम्रो “नदी माता” भन्ने उद्घोष अर्थपूर्ण हुनेछ। अन्यथा त्यो केवल धार्मिक नारा हुनेछ। भोटेकोशीले हामीलाई अन्तिम चेतावनी दिएको हो कि पहिलो रु यो प्रश्नको उत्तर इतिहासले दिनेछ।
एउटा कुरा स्पष्ट छ भोटेकोशीको पानीमा बगेका घर, सडक, पुल र मानिसका सपनासँगै हाम्रो विकास मोडलको कमजोरी पनि सतहमा आएको छ। अब पनि हामीले यसलाई केवल दैवी विपत्ति भन्यौँ भने हामी फेरि त्यही गल्ती दोहोर्‍याउनेछौँ। अब पनि नदी किनारमा जोखिम नहेरी बस्ती बसायौँ भने अर्को विपत्ति अपरिहार्य बन्न सक्छ। अब पनि हिमाली क्षेत्रलाई केवल आयोजना निर्माणको खाली ठाउँ ठान्यौँ भने मूल्य निकै ठूलो पर्न सक्छ। र अब पनि वैज्ञानिक चेतावनीभन्दा राजनीतिक निर्णय ठूलो ठान्यौँ भने प्रकृतिले कुनै दिन फेरि कठोर परीक्षा लिनेछ। त्यसैले आज शास्त्र र विज्ञानलाई आमनेसामने उभ्याएर हेर्नु आवश्यक छैन।

शास्त्रले भन्छ प्रकृतिप्रति श्रद्धा राख। विज्ञानले भन्छ प्रकृतिका नियम बुझ। हामीले गर्नुपर्ने काम हो-
श्रद्धा पनि राख्ने, नियम पनि बुझ्ने। किनकि नदीलाई माता मानेर आरती उतार्दै गर्दा उसको बहावको वैज्ञानिक नक्सा पनि हेर्नुपर्छ। हिमाललाई देवभूमि भन्दै गर्दा त्यहाँको जलवायु परिवर्तनको तथ्यांक पनि पढ्नुपर्छ। प्रकृतिलाई भगवानको सृष्टि मान्दै गर्दा त्यसको संरक्षणको जिम्मेवारी पनि लिनुपर्छ।
अन्ततः प्रश्न गंगाको पाँच हजार वर्षको यात्राको मात्र होइन। प्रश्न हाम्रो पाँच सय वर्षपछिको भविष्यको हो।
हाम्रा सन्ततिले नदी देख्लान् कि नदीको कथा मात्र सुन्लान् ? हिमालमा हिमनदी देख्लान् कि पुराना तस्बिरमा मात्र खोज्लान् ? नदी किनारमा सुरक्षित बस्ती देख्लान् कि विपत्तिका स्मारक ? आजको निर्णयले भोलिको उत्तर लेख्दैछ। त्यसैले भोटेकोशीलाई दोष दिएर उम्किने समय सकियो। नदीलाई “रिसाएको देवी” बनाएर डराउने समय पनि सकियो। अब नदीलाई विज्ञानले बुझ्ने, संस्कृतिले सम्मान गर्ने र राज्यले संरक्षण गर्ने समय हो।

किनकि नदीलाई जित्न खोज्यौँ भने नदीसँग हार्नेछौँ । नदीलाई बुझ्यौँ भने नदीसँगै बाँच्न सक्नेछौँ। र अन्तिम प्रश्न फेरि पनि यही हो नदीले माताको धर्म निभाउन छाडेको हो, कि हामीले सन्तानको धर्म निभाउन छाडेका हौँ  ? भोटेकोशीको भेलले यसको उत्तर मागिरहेको छ। अब राज्यले उत्तर दिनुपर्छ। समाजले उत्तर दिनुपर्छ। र हामी प्रत्येकले पनि।

Comments are closed

Related Post