काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
सूचना अधिकारी खतिवडाले उपलब्ध गराएको फैसलाको पूर्ण पाठ अनुसार ७ जना प्रतिवादीले सफाइ पाएका छन्।
सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।
प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्वगृहमन्त्री खाँडलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ।
पूर्व गृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।
त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत कीर्ते गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्यविरूद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ।
जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत कीर्ते, ठगी तथा संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको छ।
फैसलाको पूर्ण पाठ














Comments are closed