Shopping cart

  • Home
  • राजनिती
  • भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हाे : राष्ट्रपति
मुख्य समाचार

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हाे : राष्ट्रपति

Email :3

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रुपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्वपूर्ण योगदान दिएको हुन्छ । साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पु¥याउनुभएको योगदानको स्मरण गर्दै भन्नुभयो – ‘आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतकारूपमा बुझ्न आवश्यक छ । नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदान महत्वपूर्ण छ । उहाँ आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो ।’ उहाँले तत्कालिन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि युगकवि श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसंगबाट उहाँको जीवनको संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ ।’
राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाईने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उहाँको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

Comments are closed

Related Post