Shopping cart

  • Home
  • समाज
  • बुढानीलकण्ठ बागद्वार सामुहिक पदयात्रा सम्पन्न,आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य
अर्थ

बुढानीलकण्ठ बागद्वार सामुहिक पदयात्रा सम्पन्न,आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य

Email :81

काठमाडौं । नयाँ वर्ष २०८३ को पावन अवसर तथा ऐतिहासिक बागद्वार मेलालाई लक्षित गर्दै बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ नागीगुम्बादेखि बागद्वारसम्मको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


२०८३ को अवसरमा बुढानिलकण्ठ नगरपालिका को आयोजनामा सभ्यताको स्रोत, पवित्र बागमती नदीको मुहान बाघद्वारमा विशेष स्नान मेला तथा पदयात्रा भव्यताका साथ सम्पन्न भएको छ। १५०० बढी पदयाधीहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न यस कार्यक्रमले धर्म, संस्कृति र प्रकृतिप्रतिको अगाध आस्थालाई पुनः उजागर गरेको बताईन्छ ।
नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा १५०० भन्दा बढी पदयात्रीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जनप्रतिनिधि एवं नगरवासीहरुको सहभागितामा भव्य रुपमा पदयात्रा तथा बागद्वार मेला सम्पन्न भयो । पदयात्रामा नगरपालिकाका कर्मचारी, पर्यटनप्रेमी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर प्रमुख मिठाराम अधिकारीले नयाँ वर्षको अवसरमा नगरवासीलाई एकताबद्ध गर्दै प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

उनले नयाँ वर्षको यो अवसरमा बाघद्वारको दर्शनसँगै शिवपुरी पिक, विष्णुपादुका, सपनतीर्थ हुँदै भक्तपुरको विस्केट जात्रासम्मको यो सांस्कृतिक सम्बन्धले हाम्रो उपत्यकाको एउटा बलियो सूत्रलाई जोड्ने प्रयासको निरन्तरता भएको बताए ।

उपप्रमुख अनिता लामाले पदयात्राले समुदायबीच सहकार्य र सद्भाव बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। उनले स्थानीय तहले जनताको सहभागितामूलक विकासमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको र नीति तथा बजेट कार्यक्रममा पनि समावेश गराइएको बताइन्।
प्रमुख लामाले पर्यटन विकास स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने बताउँदै, यस्ता कार्यक्रमले महिला, युवाहरू र स्थानीय बासिन्दालाई पर्यटनसँग जोड्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने भन्दै उनले प्राकृतिक सम्पदा संरक्षणसँगै दिगो पर्यटन प्रवर्द्धनमा नगरपालिकाको ध्यान केन्द्रित रहेको बताइन्।


उनले भनिन् बागमती केवल एउटा नदी मात्र नभई यो पशुपतिनाथ मन्दिर, हाम्रो इतिहास र सम्पूर्ण राष्ट्रको पहिचानसँग जोडिएको जीवन्त सभ्यता हो। हाम्रो संस्कृति, सम्पदा र पर्यटनलाई सिधै जनजीविकोपार्जनसँग जोडेर आर्थिक समुन्नतितर्फ अगाडि बढ्नु नै आजको मुख्य आवश्यकता हो।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रापछि पुगिने प्राकृतिक सौन्दर्यले भरिएको बाघद्वारमा वैशाख १ गते स्नान गरी शतरुद्रेश्वर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको उनको भनाई थियो ।
कार्यक्रमअन्तर्गत पदयात्रीहरूलाई सहज बनाउन नगरपालिकाले बुढानीलकण्ठबाट नागी गुम्बाको फेदसम्म यातायातो व्यवस्था गरेको थियो। त्यसपछि सहभागीहरू पैदल यात्रा गर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने नागी गुम्बा हुँदै पवित्र बागद्वारसम्म पुगेका थिए ।

बागद्वार दर्शनपश्चात् सहभागीहरू पुनः बुढानीलकण्ठ फर्किएका थिए। पदयात्रामा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई नजिकबाट अनुभव गर्ने अवसर पाएको बताएका छन्।

शिवपुरी क्षेत्रको हरियाली, शान्त वातावरण र ऐतिहासिक महत्वले यात्रालाई अझै स्मरणीय बनाएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहले यस्ता गतिविधि आयोजना गर्नु पर्यटन प्रवर्द्धन, धार्मिक चेतना अभिवृद्धि तथा जनस्वास्थ्य प्रवर्द्धनका लागि अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

नगरपालिकाले प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा यस्ता पदयात्रा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनसँगै बुढानीलकण्ठ क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Comments are closed

Related Post