Shopping cart

  • Home
  • समाज
  • बाँझो जमिनमा आलु फलाएर जन्तेढुङ्गाले देखायो कृषिको नयाँ बाटो
अर्थ

बाँझो जमिनमा आलु फलाएर जन्तेढुङ्गाले देखायो कृषिको नयाँ बाटो

Email :87

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो हुँदै गएको जमिनलाई उत्पादनसँग जोड्दै स्थानीय कृषि प्रवर्द्धनको नयाँ अभ्यास थालेको छ। गाउँपालिकाले वडा नं. ४ डम्बर्खु शिवालयस्थित भञ्ज्याङखर्कको करिब ६० रोपनी सार्वजनिक जमिनमा आलुखेती गरेर करिब साढे तीन हजार किलो आलु उत्पादन गरेको हो।

बाँझो जमिनको खोजी गरी त्यसलाई कृषि उत्पादनमा प्रयोग गर्ने गाउँपालिकाको नीतिअनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको आलुखेतीबाट उल्लेख्य उत्पादन भएपछि स्थानीयस्तरमा यसको प्रशंसा भएको छ। गाउँपालिकाले उत्पादन गरेको आलु अहिले बिक्रीसमेत सुरु गरिएको जनाएको छ।

गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काका अनुसार भण्डारण गरिएको आलु प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको छ। हालसम्म एक हजार २७० किलो आलु बिक्री भइसकेको उनले जानकारी दिए। बिक्रीबाट प्राप्त आम्दानी गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईका अनुसार उत्पादनलाई निरन्तरता दिँदै बाँझो जमिनलाई कृषि उत्पादनको आधार बनाउने लक्ष्य लिइएको छ।

आलुसँगै लोपोन्मुख तिते फापरको संरक्षण

जन्तेढुङ्गा गाउँपालिकाले आलुखेतीसँगै स्थानीय तथा लोपोन्मुख बालीको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। गाउँपालिकाले गत वर्षदेखि ‘स्थानीय बाली प्रवर्द्धन कार्यक्रम’मार्फत तिते फापरखेतीलाई प्रोत्साहन गर्दै आएको छ।

भञ्ज्याङखर्ककै करिब ६० रोपनी सार्वजनिक जमिनमा आलुसँगै तिते फापरखेतीसमेत गरिँदै आएको गाउँपालिकाले जनाएको छ। गत वर्ष पहिलोपटक ११ मुरी तिते फापर उत्पादन भएको थियो। उत्पादित तिते फापर प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री गर्नेगरी गाउँपालिकाले सूचना जारी गरेको छ।

स्थानीय राजस्व परामर्श समितिको निर्णयका आधारमा गाउँपालिकाले उत्पादन गरेका आलु र तिते फापरको मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले बताए। उनका अनुसार ५० किलोभन्दा बढी आलु खरिद गर्ने ग्राहकलाई प्रतिकिलो दुई रुपैयाँका दरले छुट दिने निर्णयसमेत गरिएको छ।

किसानलाई बजारको चिन्ता घटाउँदै पालिका

जन्तेढुङ्गा गाउँपालिकाले किसानलाई उत्पादनमा मात्र सीमित नराखी बजारीकरणमा समेत सहयोग गर्ने नीति अघि सारेको छ। गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय कृषि उपज उचित मूल्यमा खरिद गरी बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन थालेको छ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दीक्षा’का अनुसार बाँझो जमिनलाई उत्पादनमा जोड्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

“गाउँपालिकाले स्थानीय बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। तिते फापर लोप हुने अवस्थामा छ। यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ,” उनले भनिन्।

स्थानीय उत्पादनको बजारीकरणका लागि चिसापानी बजारमा ‘कोसेली घर’ स्थापना गरिएको अध्यक्ष राईले बताइन्। किसानले उत्पादन गरेका स्थानीय कृषि उपज खरिद, भण्डारण र बजारसम्म पुर्‍याउने काम गाउँपालिकाले गर्ने उनको भनाइ छ।

उत्पादनसँगै रोजगारी र व्यावसायिक खेतीको लक्ष्य

गाउँपालिकाले तिते फापरखेतीलाई विस्तार गर्न जमिन खनजोतदेखि बीउ छर्ने, फापर काट्ने र उठाउनेसम्मका काममा स्थानीय कामदारलाई पारिश्रमिक दिएर परिचालन गर्दै आएको छ।

कृषि विकास शाखा प्रमुख काजोल कुश्माका अनुसार आगामी वर्ष पनि भोजपुर जिल्लाको सीमासँग जोडिएको भञ्ज्याङखर्क क्षेत्रमा तिते फापरखेती गर्ने योजना छ।

गाउँपालिकाले लामो समयदेखि निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। किसानले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले उचित मूल्यमा खरिद गरेर बजारमा बिक्री गर्ने नीति लिएपछि स्थानीय कृषक उत्साहित हुन थालेका छन्।

बाँझो जमिन बढ्दै जाने र परम्परागत स्थानीय बाली हराउँदै जाने अवस्थाबीच जन्तेढुङ्गा गाउँपालिकाको यो पहलले जमिनको उपयोग, स्थानीय बाली संरक्षण, रोजगारी सिर्जना र कृषि व्यवसायीकरणलाई एकैसाथ अघि बढाउने प्रयास गरेको देखिन्छ।

गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई विस्तार गर्दै बाँझो जमिनलाई उत्पादनको आधार बनाउने लक्ष्य लिएको छ।

Comments are closed

Related Post