लेखनाथ सिकारू
काठमाण्डौ । ‘माङ निङवारे माङ आबोङ,हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’(भगवान्को सोच लियौँ भने भगवान हुइन्छ। राम्रो सोचले राम्रो मन्छे हुइन्छ। नराम्रो सोचले आफैँ सकिन्छौं।)
आज ९६ औं समाज सुधार दिवस विविध कार्यक्रमका साथ मनाईदै छ । विभिन्न कुरीति, अन्धविश्वास र बेथितिमा रहेको किरात समुदायलाई ‘सत्य धर्म मुचुल्का’ मार्फत महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गरेको समाज सुधार अभियानको सम्झना स्वरूप हरेक वर्ष बैशाख २४ गते समाज सुधार दिवस मनाइदै आएको छ ।
नेपालका १६औं राष्ट्रिय विभूति तथा किराँत धर्मगुरु फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ देखि २८ गतेसम्म पाँचथर जिल्लाको फिदिम स्थित सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीविको भेला गराएर समाज सुधारकालागि जारी गरेको १० बुँदा सत्यधर्म मुचुल्काको स्मरणमा यो दिवस मनाइने गरीन्छ ।

सत्य धर्म मुचुल्का निर्माण गरिएको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल, किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको कर्म भूमि पाँचथरको फिदिम नगरपालिका स्थित लब्रेकुटीमा भव्य कार्यक्रमको आयोजना गरी यो दिवस मनाईन्छ ।
विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइ दिए पछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ ।
१६ वर्षमा बर्मामा बृटिस सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखे पछि उनी मानव मानव बिचको लडाइ मरामार वाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए ।
जन्मभुमि फर्केपछि उनी पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नु पर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए । उतिबेला किराँत समूदायमा मद्यपानको समस्या व्याप्त थियो। लिम्बु समुदायमा जरा गाडेको यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) बोलाए । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे ।

उनले लिम्बूहरूको जन्म विवाह मृत्यु संस्कारलाई समायानुकुल परिवर्तनको लागी सुधारको योजना बनाए।यस अघि ८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने , झुटो बोल्नु नहुने ,नारीहरू सृष्टि कर्ता भएकोले उनिहरुलाइ समाजमा उच्च सम्मान दिनु पर्ने , आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने , मासु मांस तथा मदिरा पान गर्नु नहुने साथै देवी देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए ।
तत्कालीन अवस्थामा समाजमा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संसोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनु पर्ने भन्दै तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वलाई भेला गराइ पाँचथर जिल्लाको फिदिम नगरपालिका स्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० वुंदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागु गरेका थिए ।
ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम सृङखलालाई किराँतिहरुको पवित्र धार्मिक स्थत तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोही अनुरूप अहिले समेत किराँतहरूले कुम्भकर्णलाइ पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामा समेत धार्मिक पर्यटनको माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ । यस सन्दर्भले पनि फाल्गुनन्दको सोच र बुझाई धेरै उचाईको भएको विश्लेषकहरु बताउने गर्छन् ।
किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत , भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नु परेको थियो । लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २ ) हाङयक भन्ने स्थानमा मृत्यु भयो ।
उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ती र बैशाख २४ गते समाज सुधार दिवसको रुपमा मनाउँदै आएका छन् ।
१६ औँ राष्ट्रिय विभूति घोषणा
किराँत समुदायमा सुधारको घोषणा गर्ने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
यसैगरी विसं १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको लोब्रेकुटीमा विसं २०७१ वैशाख २४ गते किराँत समाज सुधार स्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गरेका थिए ।

सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ भने नेपाल सरकारको कक्षागत पाठ्यक्रममा उनको जीवनी समेत समावेश गरेको छ । यस्तै उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । कोशी प्रदेश अन्तर्गतको दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यसका अलवा पूर्वि नेपालमा फाल्गुन्दको नाममा थुप्रै सामाजिक संघ संस्थाहरु स्थापना भई कार्यरत रहेका छन् । पाँचथर जिल्लमा सवै भन्दा ठूलो राशिको फूटबल खेल फाल्गुनन्द गोल्डकपको नाममा प्रत्येक वर्ष खेलाईने गरीन्छ ।
यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाई तपस्या गरेको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ ।
लोब्रेकुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।
समाजको आर्थिका समाजीक सांस्कृतिका सुधारमा लागेका फाल्गुनन्दले पापले सकिन्छ धर्मले वढिन्छ , वोलेन भने झगडा हुँदैन , हजारौ तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ , खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछ जस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समय सापेक्ष छन् । आफ्नो मौलिकतालाइ विर्सेर पथ भ्रष्ट हुनु हुन्न धर्म संस्कार र संस्कृतिका नाममा तडक भडक गर्नु हुन्न ,आफ्नो गच्छे अनुसार धर्म संस्कार र संस्कृति मनाउनु पर्छ , मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न , अरुलाइ खुशि तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वलि गर्नु हुन्न भगवानको पुुजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नु पर्छ जस्ता सामाजीक चेतना फैलाएर समाज सुधारमा लाग्नु भएका फाल्गुनन्दको समाज सुधारको निति विश्व सामु अनुकरणिय छ ।
राष्ट्रिय विभूति किराँत धर्मका पथ प्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र शान्तिका पक्षधर साधक तथा दार्सनिक फाल्गुनन्दको कर्म भूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् । नेपाल सरकारले राजा जनक , सीता , गौतम वुध्द , अंशु वर्मा , राम शाह , पृथ्वी नारायण शाह , भीमसेन थापा , अमरसिं थापा , वलभद्र कुंवर , भक्ति थापा , त्रिभुवन ,कलाकार अरनिको , युवाकवि मोतिराम भट्ट , आदिकवि भानुभक्त आचार्य , समाज सुधारक शंखधर साख्वा ,महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ ।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सवै भन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिक,सामाजिक अगुवाहरुलाई भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
महागुरुले समाज सुधारका लागि तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरूलाई भेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गरेका थिए। समाज सुधार अभियानमा आजीवन लाग्नुभएका महागुरुलाई राज्यले जीवनभरि राजद्रोही, देशद्रोही र पूर्व लिम्बूवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौँ दुःख, पीडा दिने काम समेत तत्कालिन राज्यले गरेको थियो ।
महागुरु महिलावादी सोचका प्रेरणा पनि
सत्यधर्म मुचुल्कामा छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनु पर्ने, छोरी चेलीको विबाह गर्दा सोत–रीत (पैसा) लिनु नहुने ,बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने,लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने जस्ता कुरालाई कडाईका साथ उठाएको छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा छोरी पक्षबाट सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । उनले गरेको प्रथा परम्परा तथा संस्कारका नाममा भएका कुरीति कुसंस्कारको सुधारको प्रयास बैज्ञानिक र समय सान्र्भिक विषयहरु उठान गरी मुचुल्का मार्फत जोड दिएको पाइन्छ ।

मुचुल्का र समाजसुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गते लाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा ब्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ । भगवानको पूजागर्दा प्राणीको हत्यागर्न नहुने, मद्यपान र मासु सेवनकमगर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक,साँस्कृतिकपक्षहरु समेटिएका छन् मुचुल्कामा ।
मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।

फाल्गुनन्दको अगुवाईमा जारी भएको १० बुँदे सत्य धर्म मुचुुल्कामा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने उल्लेख छ । जस्ले धार्मिक सहअस्तित्वको सवाल दरिलो गरी उठाएको पाईन्छ । अर्काको घर परिवार बिगार्नु नहुने, किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनु पर्ने,मासु र मदिरा खान नहुने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नु पर्ने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने जस्ता विषय उल्लेख छन । सत्य धर्म मुचुल्का लागु भएपछि किरात समुदायको जीवन स्तर उकास्न योगदान पुगेको विश्वास गरीन्छ ।
लब्रेकुटीलाई राष्ट्रि विभूती महागुरु फाल्गुनन्दको खुल्ला संग्रहालयको रुपमा समेत ब्याख्या गरिन्छ । फाल्गुनन्दले प्रयोग गरेको खाट, उनको कपाल, उनैले प्रयोग गरेको चिम्टा, उनले टेकेको त्रिशुल, उनले रोपेका १०८ प्रकारका वृक्ष दर्शन गर्ने पाइने लब्रेकुटी माङ्हिम संरक्षण समितिका सचिव सुवास तुम्बापो बताउँछन् । माहागुरुको सम्झनामा २५ वर्षदेखि यहाँ अखण्ड माहादिपसमेत बलिरहेको छ ।
फाल्गुनन्द लिङदेनले जारी गरेका १० बुँदाले किराँती समूदायमा रहेका कुरिति,कुसंस्कारहरूको अन्त्य गर्न कोशेढुंगो सावित भएको उनका अनुयायीहरु वताँउछन ।
समाज सुधार दिवसका अवसरमा फाल्गुनन्दको समाधिस्थल सिलौती,तपोभूमी लब्रेकुटी,किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको आधार क्षेत्र लारुम्बा सहित यो दिवस पाँचथर,ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम सहित पूर्वि नेपालका विभिन्न जिल्ला सहित काठमाण्डौै र विभिन्न माङहिमहरुमा विविध कार्यक्रम आयोजना गरी मनाईन्छ । त्यसैगरी नेपालमा मात्र नभएर भारतको विभिन्न राज्य, अमेरिका, युके, हङकङ, बर्मा, भूटान, अष्ट्रेलिया लगायत किरात धर्मावलम्बी बसोबास भएको संसारको जुनसुकै ठाउँमा पनि समाज सुधार दिवस मनाउने चलन छ ।














Comments are closed